मुख्यमन्त्री बनेर आउँदा लागेको थियो ‘९० प्रतिशत बजेट खर्च गर्छु, समयमै काम सक्छु’ तर…

प्रदेश मुख्य समाचार

‘बजेट कार्यान्वयन हुने परिस्थिति नै बनेन’
पोखरा, २९ वैशाख, २०७६ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले परिस्थति नै नबन्दा बजेट खर्च गर्न नसकेको स्विकारेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग आबद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको आयोजनामा शनिबार पोखरामा भएको ‘सुशासन, प्रभावकारिता र बजेट खर्चको वर्तमान अवस्था एवम् सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परिस्थिति प्रतिकुल बन्दा प्रदेश सरकारले सोंचेजस्तो बजेट खर्च गर्न नसकेको स्विकारेका हुन् ।

‘मुख्यमन्त्री बनेर पहिलोपटक बजेट ल्याउँदा मलाई पनि लागेको थियो ९० प्रतिशत बजेट खर्च गर्छु, समयमै काम सक्छु र सम्झौता अनुसारै गुणस्तर कायम गर्छु’ – उनले भने, ‘तर परिस्थिति त्यस्तो बनेन ।’ बजेट खर्च नहुनुमा संघ सरकार दोषी रहेको उनले जिकिर गरे । ‘बजेट ल्याउने बेलामा समयमै कर्मचारी आउला, संघले प्रदेश मातहतका कार्यालयहरु समयमै हस्तान्तरण गर्ला भन्ने सोंचेको थिएँ’ – उनले भने, ‘तर कार्यालय हस्तान्तरण भो, न त कर्मचारी नै आए ।’ उनले ऐन, कानून निर्माण गर्नलाई समय लागेकाले पनि बजेट खर्चमा त्यसको प्रभाव परेको बताए ।

मुख्यमन्त्री गुरुङले अर्को वर्ष यस वर्षको क्षतिपूर्ति हुनेगरी बजेट कार्यान्वयन गर्ने बताए । ‘सीमित श्रोत र साधनका बाबजुद यत्तिको खर्च भएको हो’ – उनले भने, ‘नत्र यति पनि हुने थिएन, तर अर्को वर्ष यस वर्षको क्षतिपूर्ति हुनेगरी बजेट कार्यान्वयन गर्छौं ।’ उनले संघ सरकार अधिकार बाँडफाँडमा केन्द्रीयतातर्फ गइरहेको आरोप लगाए ।

मुख्यमन्त्री गुरुङले अन्य काममा सन्तोषजनक भए पनि लगानीमैत्री वातावरण बनाउन चाहेर पनि नसकेको बताए । ‘लगानीमैत्री वातावरण बनाएर लगानी भित्र्याउने योजना भएपनि यस वर्ष त्यो सकिएन’ –उनले भने, ‘तर आउँदो वर्ष लगानीका लागि ठोस नीति बनाउँछ प्रदेश सरकारले ।’ आन्तरिक होस् वा बाह्य दुबै लगानीकर्ताको लगानी सुरक्षित हुनेगरी लगानीमैत्री नीति प्रदेश सरकारले ल्याउने उनको भनाई छ ।