नेकपा कास्कीका सदस्यले लिए सपथ

मुख्य समाचार राजनीति

पोखरा, २९ वैशाख, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीका सदस्यहरुले आइतबार सपथ ग्रहण गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पाटी (नेकपा) को जिल्ला कमिटी कास्कीमा मनोनित भएका १ सय ५३ जना सदस्यहरुले आइतबार सामूहिक सपथ ग्रहण गरेका हुन् । पार्टीका जिल्ला सदस्यहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले सपथ ग्रहण गराएका हुन् ।

नेकपा कास्कीमा कुल १ सय ५५ जना रहेका छन् । जसमा अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह गुरुङ (आभाष)ले यसअघि नै सपथ लिइसकेका थिए । आइतबार बाँकी १ सय ५३ जनाले सपथ लिए । नेकपा कास्की जिल्ला कमिटीमा पूर्वएमालेबाट ८८ जना र पूर्वमाओवादी केन्द्रबाट ६७ जना रहेका छन् ।

सपथ कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले संसदलाई संघर्षको थलोको रुपमा उपयोग गर्न निर्देशन दिए । उनले गाउँसभा, नगर सभा, प्रदेश सभा र संघीय संसदलाई संघर्षको थलोको रुपमा उपयोग गरेर समाजवादसम्म जाने बाटो तय गर्नुपर्नेमा जोड दिए । ‘राजतन्त्रको अन्त्य गर्यौं’ –उनले भने, ‘कम्युनिष्ट पाटीको अन्तिम लक्ष्य समाजवाद नै हो, तर अहिल्यै हतारो नगरौं ।’ उनले अन्तिम लक्ष्यमा पुग्नका लागि धैर्यता राखेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले कम्युनिष्ट चरित्र सदैव बोकिराख्न कार्यकर्तालाई निर्देशन दिए । ‘कम्युनिष्ट पार्टी मौरीको गोलोजस्तै हुनुपर्ने हो’ –उनले भने, ‘तर सुन्तलाको केस्राजस्तै भयौं, अब मौरीको गोलोजस्तै बनेर देशीविदेशी प्रतिक्रियाबादीसँग लड्नु पर्यो ।’

नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासीले राष्ट्र, पार्टी र जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नका लागि दत्तचित्त भएर लाग्न आग्रह गरे ।

नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम) ले सरकार र पार्टी एक ढिक्का भएर देशलाई समृद्धिमा लैजानुपर्नेमा जोड दिए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जनताको अपेक्षा पूरा गर्ने सरकारको काममा पार्टीका सदस्यले सहयोग गर्नुपर्ने बताए ।

Loading...