उपत्यकाका नेपाली प्राध्यापकहरू पाटन क्याम्पसमा

मुख्य समाचार शिक्षा

काठमाडौँ, २९ वैशाख, २०७६ । पाटन संयुक्त क्याम्पस नेपाली विभागकाे आयाेजनामा ‘नेपाली शिक्षण, अनुसन्धान, प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षण विषयक ४ दिने अभिमुखीकरण तथा पुनरताजगी’ कार्यक्रम सम्पन्न भएको छ । सेमेस्टर प्रणालीकाे पाठ्यक्रम अनुसार एमए नेपाली विषयमा पढाइ हुने विभिन्न १३ विषयमा विशेषज्ञ प्राध्यापकहरूले प्रशिक्षण दिएकाे साे कार्यक्रममा पाटन संयुक्त क्याम्पस, नेपाली केन्द्रीय विभाग, त्रिचन्द्र, आरआर , पद्मकन्या, सरस्वती र पशुपति क्याम्पसकासमेत ४५ जना प्राध्यापकहरूको सहभागिता थियो ।

विश्वविद्यालय अनुदान आयाेगकाे सहयोगमा सञ्चालित साे कार्यक्रमकाे उद्घाटन साे आयाेगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले गरेका थिए । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायमा डीन प्राडा शिवलाल भुसालले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

पाटन संयुक्त क्याम्पस नेपाली विभागका अध्यक्ष अच्युतराज अधिकारीकाे अध्यक्षतामा उद्घाटन तथा समापन कार्यक्रम सञ्चालन भएको थियो भने अन्य सत्रहरू पाटन क्याम्पसका प्राध्यापकहरूकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रा.डा. जगदीशचन्द्र भण्डारीका अनुसार सेमेस्टर प्रणालीकाे पाठ्यक्रम लागु भएपछि नेपाली विषयका प्रायः जसो सबै विषय क्षेत्र समेटेर यस गरिएको यस प्रकारको कार्यक्रम याे नै पहिलो हाे । कार्यक्रम आयाेजक पाटन क्याम्पसमा प्राध्यापनरत डा. धनप्रसाद सुवेदीका अनुसार नेपाली विषयका १३ जना मूर्धन्य प्राध्यापकबाट उपत्यकाका नेपाली विषयका यति धेरै प्राध्यापकलाई ४ दिनसम्म विषयकेन्द्रीत तालिम दिएकाे कार्यक्रम उत्साहजनक र उपलब्धिपूर्ण रह्यो ।

Loading...