त्रि.वि. को जागिर नेता, पदाधिकारीका आफन्त र नातेदारलाई (प्रमाणसहित)

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, २९ वैशाख, २०७६ । त्रिभुवन विश्वविद्यालयको विकृति पटक पटक सार्वजनिक नभएको होइन । जसले विश्वविद्यालयको शाख नमज्जाले गिराएको छ । यसकै श्रृङ्खला स्वरुप त्रि.वि. सेवा आयोगले लिने खुल्ला प्रतियोगिताको पदपूर्तिमै सेवा आयोगका अध्यक्ष, त्रि.वि.का उच्च पदाधिकारी, क्याम्पस प्रमुख, डीन, विद्यार्थी संगठन र नेताका आफन्त तथा नातेदारकै नाम निकालेको प्रमाण फेला परेको छ । यसघि गोप्य रहेका प्रमाणहरू कान्तिपुर दैनिकले आइतबार यो समाचार छापेपछि बाहिरिएका हुन् ।

यो कार्यमा त्रि.वि. सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रि.वि. केन्द्रीय क्याम्पसका पूर्वप्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाल लगायतका पदाधिकारी मुछिएका छन् । यसैगरी तत्कालिन एमालेका नेता, कर्मचारी संगठनका नेता, तत्कालिन माओवादी केन्द्रका पूर्वस्ववियु अध्यक्ष हिमाल शर्मा, कांग्रेसका नेताहरू पनि छन् ।

त्रि.वि. सेवा आयोगले लिएको शाखा अधिकृत, मुख्य कार्यालय सहायक, लेखा अधिकृत, सहायक लेखा अधिकृतको परीक्षामा उत्तीर्णहरुको रोल नम्बर, नाम र पार्टी तथा नातेदार उल्लेख गरेरै प्रमाण तयार गरेको पाइएको छ । जसअनुसार सेवा आयोग प्रमुख परशुराम कोइरालाकी छोरी, सेवा आयोग अध्यक्ष शर्माकी भतिजी, पूर्वरजिष्ट्रार पौडेलका छोरी र ज्वाई, अध्यक्षकी भतिजी र आफ्नो मान्छे, पूर्वप्रिन्सिपलकी छोरी लगायतका छन् ।

यता सेवा आयोग अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको अधिकृत र मुख्य कार्यालय सहायक गरी दुबै पदमा नाम निस्किएको छ ।

यता नेताका आफन्तको पनि प्रशस्तै नाम निस्किएको छ। जसमा एमाले नेता राम श्रेष्ठकी श्रीमती, कांग्रेस कर्मचारी प्रल्हाद पुयालकी श्रीमती, एमाले अखिल सचिवको श्रीमती, कांग्रेस कर्मचारी नेता, मनोज न्यौपानेको श्रीमती, एमाले नेता स्वयमको, एमाले अखिल माधव पन्तकी श्रीमती, कांग्रेस नेता केशव भट्टराईकी श्रीमती, एमाले प्राध्यापक सुमन खरेलकी श्रीमती, एमाले नेताकी श्रीमती, एमाले कर्मचारी नेता छत्र कार्कीकी श्रीमती, नेकपा नेताकी श्रीमती, हिमाल शर्माकी बहिनी, रेनु थापाकी बहिनी कांग्रेस, एमाले रजिष्ट्रारको मान्छे, मनोहर पराजुलीकी साली लगायतको नाम निस्किएको छ।

पैसाको चलखेल र पहुँचवालाको दबाबले मात्रै त्रि.वि.मा जागिर खान पाइने प्रमाण हो यो । यो विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परिसकेको छ । त्रि.वि. कै कतिपय निकायमा समेत यो विषयमा उजुरी परे पनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन । जसले त्रि.वि.को वेथितिलाई झन् मलजल गरेको छ ।