प्रदेश एकस्तरीय बहुभाषिक सङ्गीत उत्सव सम्पन्न

आजको म्यूजिक मुख्य समाचार

इटहरी, २८ वैशाख, २०७६ । प्रदेश नम्बर एकको इटहरीमा प्रदेश नं. एक स्तरीय बहुभाषिक सङ्गीत उत्सव आयोजना गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठान इटहरी नेपालद्वारा संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरिएको छ ।

उत्सवलाई सम्बोधन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले यो उत्सवले मातृभाषा, सङ्गीत र संस्कृतिको उत्थान, संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भाषा नेपाली जातिको मौलिक पहिचान भएको विचार व्यक्त गर्दै आफ्नो भाषा, संस्कार र संस्कतिलाई बचाउन सकिएन भने मानिस हुनुको सार्थकता नरहने उल्लेख गरे । मुख्यमन्त्रीले देश समृद्धिको यात्रामा अगाडि बढेको तर साहित्य, कला र संस्कृतिको समृद्धिबिना त्यो समृद्धि अधुरो रहने विचार व्यक्त गरे । उनले भने, ‘यसै कुराई मनन गरी प्रदेश सरकारले बृहत् साहित्य, कला र संस्कृति सम्मेलन आयोजना गर्नुका साथै एउटा महासांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने योजना बनाएको छ ।’

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले प्रतिष्ठानको योजना, कार्यक्रम र गतिविधिमाथि प्रकाश पार्दै नेपाली जाति विविध संस्कृतिले सम्पन्न भए तापनि आर्थिक कारणले पछिपर्नुपरेको उल्लेख गर्दै आफ्ना मौलिक कला, सङ्गीत र संस्कृतिको संरक्षणमा सचेत हुनुपर्ने बताए ।

सङ्गीत विभाग प्रमुख एवम् उत्सव संयोजक अशोक राईले राष्ट्रभित्रका सबै सङ्गीत राष्ट्रिय सङ्गीत भएकोले तिनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बहुभाषिक सङ्गीत उत्सवको आयोजना गरिएको जानकारी गराए ।

श्ुाक्रबार सुरु भई शनिबार सम्पन्न उत्सवको पहिलो दिन आयोजित बहुभाषिक सङ्गीत सम्बन्धी विचार गोष्ठीमा संस्कृतिविद् डा. भक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए । डा. राईले मौलिक सङ्गीतले मात्रै नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने दाबी गरे । उनले भने, ‘बहुभाषिक सङ्गीतलाई आयआर्जनसँग जोड्न सकियो भनेमात्रै बहुभाषिक सङ्गीतसँगसँगै राष्ट्र पनि समृद्ध बन्ने छ ।’
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बू, सङ्गीत–नाट्यकी प्राज्ञ सभा सदस्य एवम् गायिका सत्यकला राई, सांस्कृतिक संस्थानका सदस्य प्रेमनाथ अधिकारी, सङ्गीत साधनाका अध्यक्ष राम धामी, महासचिव राजु केसी, सङ्गीतकार सङ्घ नेपालका महासचिव पारस मुकारुङ लगायतले कार्यक्रममा बहुभाषिक सङ्गीतको महत्वमाथि प्रकाश पारेका थिए ।

उत्सवमा प्रदेश नम्बर तीनबाट शेर्पा र प्रदेश एकका विभिन्न जिल्लाबाट बान्तवा, उराव, मुस्लिम, आठपहरिया राई, थारू, मगर, लिम्बू, चाम्लिङ, दुमी, राजवंशी, धिमाल, लिम्बू, शेर्पा, बान्तवा, सुनुवार, खस लगायतका १९ भाषाका गीत–सङ्गीत प्रस्तुत गरिका थिए ।

Loading...