वर्षा नलागी काठमाडौँमा देखियो हैंजाको संक्रमण !

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, २९ वैशाख, २०७६ . वर्खा र गर्मी समयमा सताउने विभिन्न राेगमध्य हैजा पनि एक हाे । याे राेगकाे सम्बन्ध विशेषगरी सरसफाइ र पानीसँग सम्बन्धित छ । सामान्यता मनसुनकाे समयमा हैजा देखिने सम्भावना अत्यधिक हुन्छ । तर मनसुन सुरु नुहँदै काठमाडाैंमा भने हैजाका बिरामी भेटिएका छन् ।

काठमाडाैं महानगरपालिका वडा नं- १३ निवासी ४५ वर्षीय पुरुषलाई हैजा भएकाे इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले पुष्टी गरेकाे छ । काठमाडाैंमा याे वर्ष हैजाकाे संक्रमण देखिएकाे याे पहिलाे घटना हाे । संक्रमित बिरामीकाे घरबाट ल्याइएकाे पानीमा प्रशस्त मात्रामा काेलिफर्म भेटिएकाे महाशाखाले जनाएकाे छ ।

मनसुनकाे समयमा हैजा देखिने सम्भावना भएपनि तर मनसुन अगाडि नै हैजा देखिनुलाई चिकित्सकले भने सामान्य रुपमा लिएका छैनन् । सरुवा राेग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ”विगतका तथ्यांक हेर्ने हाे भने जुन जुलाई पछि मात्र हैजाका बिरामी भेटिने गरेका थिए । तर याे वर्ष भने छिटाे देखियाे जुन सामान्य हाेइन ।”

विश्वभर वर्षेनी ४ कराेड मानिसलाई हैजा हुने गरेकाे विश्व स्वास्थ्य संगठनकाे तथ्यांक छ । जसमध्ये १ लाख ४३ हजार मानिसकाे मृत्यु हुन्छ । भिब्रियाे कलेरा नामकाे ब्याक्टेरियाका कारण हैजा लाग्छ । जसमा तारन्तार दिसा र वान्ता हुन्छ ।

हैजा लागेका मध्ये ५ देखि १० प्रतिशतमा मात्र कडा खालकाे हैजा देखिने गरेकाे डा. पुनले बताए । उनका अनुसार कडा खालकाे हैजामा गम्भीर जलवियाेजन हुने भएकाले समयमै उपचार नपाए केही घण्टामै मृत्यु समेत हुन सक्छ । डा. पुन भन्छन्, ”हैजा लागेकाे बिरामीलाई समयमै उपचार गरियाे भने या भनाै जीवनजल खायाे भने पनि निकाे हुन्छ । तर हेरचक्रयाई गर्याे भने बिरामीकाे मृत्यु पनि हुन्छ ।” जीवनजलले मात्र ८० प्रतिशत सम्म हैजालाई निकाे पार्न सक्ने उनले बताए ।

हैजा पानीसँग सम्बन्धित राेग भएकाले पानीकाे सफाइकाे विषयमा काठमाडाैं महानगरपालिकासँग छलफल गर्ने महाशाखाका निर्देशक डा. विवेकुमार लाले बताए । हालसम्म एक जना बिरामीमा मात्र हैजा देखिएकाे उनले बताएका छन् ।

याे सामान्य भएपनि सरसफाईकाे कमी र हेलचक्रयाईका कारण यसले जटिल रुप लिने गरेकाे छ । मनसुनकाे समयमा राेगकाे जाेखिम झनै बढ्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ ।