नेपालमा उत्पादन हुने औषधिकाे गुणस्तरमै प्रश्न !

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, २८ वैशाख, २०७६ । औषधिकाे स्तर मापन गर्ने आधार फर्माकाेपिया हाे । यसमा औषधिकाे गुण, परीक्षण तथा बनाउने विधि, सीमा, प्रयाेग गरिएका कच्चापदार्थकाे बारेमा विस्तृत रुपमा व्याख्या गरिएकाे हुन्छ । जसलाई देशकाे कानूनले आधिकारिक रुपमा स्वीकृत गरेकाे हुन्छ । तर नेपालकाे आफ्नै फर्माकाेपिया छैन ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन्, ”हामीले आफ्नै फर्माकाेपिया बनाउन नसक्नुमा यसकाे व्यवहारिक कारण छ भने यसमा ठुलाे प्रयाेगशाला र लगानीकाे आवश्यकता पर्छ । धेरै जनशक्ति लागेर मात्र फर्माकाेपिया बन्न सक्छ ।” फर्माकाेपिया बनाउन अझै केही समय लाग्ने उनकाे भनाई छ ।

नेपालले सबैभन्दा धेरै भारतकाे फर्माकाेपियालाई पछ्याउँछ । फर्माकाेपिया बनाउने सरकारकाे नीति भएपनि आवश्यक जनशक्ति र बजेट अभावमा याे बन्न सकेकाे छैन । हुन त फर्माकाेपिया नभए पनि औषधि व्यवस्था विभागले औषधिकाे स्तर निर्धारण गर्नुका साथै मापदण्ड तय गर्दै आएकाे छ । तर नेपालकाे आफ्नै फर्माकाेपिया नहुँदा धेरै समय खर्चनु पर्ने तथा औषधिकाे परीक्षण विधि माथि प्रश्न उठ्ने गरेकाे महानिर्देशक ढकाल स्वीकार्छन् । उनी भन्छन्, ”फर्माकाेपिया नहुँदा यसकाे परीक्षण विधि के त भन्ने प्रश्न आइदिन्छ । साथै यसमा हामीले धेरै अध्ययन र मेहनत गर्नुपर्छ ।”

औषधि उत्पादककाे बुझाईमा फर्माकाेपिया बनाउन नसक्नु सरकारकाे लाचारिपन हाे । यसकाे अभावमा आफूहरुलाई समस्या हुने गरेकाे उनीहरुकाे भनाई छ । औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले भने, ”हामी जिम्मेवार उद्याेगीलाई याे फर्माकाेपिया निकै आवश्यकता हाे । तर सरकारले याे बनाउने भने पनि बनाउन सकेकाे छैन । गुणस्तरीयता जाँच गर्छाै भन्छ तर त्याे पनि ढ‌ंगले गर्न सकेकाे छैन ।”

कुनै पनि औषधिकाे स्तर र गुणस्तर मापन गर्ने आधार फर्माकाेपिया हाे । त्यसैले यसकाे आवश्यकता नेपालमा पनि छ र सरकारले फर्माकाेपिया बनाउन कुनै चासाे देखाएकाे छैन । त्यसैले अन्य राष्ट्रकाे फर्माकाेपियाकाे आधारमा हामी चलिरहेका छाै ।

*शीर्षक सम्पादित