प्रधानाध्यापकमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ

मुख्य समाचार शिक्षा

खोटाङ, २८ वैशाख, २०७६ । खोटाङमा मापसे गरेर प्रअमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन् । व्यवस्थापन समितिको बैठक चलिरहेका समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेकामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन् ।

सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको वि.व्य.स.को बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेपछि ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका शिक्षकको मेडिकल चेक गरेर नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । सोही विद्यालयमा कार्यरत शिक्षक इच्छाराम राईले व्यक्तिगत समस्या कारण सट्टा शिक्षक राखेर पठन–पाठन गर्नका लागि वैशाख १५ गते निवेदन दिएपछि छलफल गर्न बोलाइएको बैठकमा शिक्षक राईले प्रअमाथि कुर्सी उठाएर हान्ने प्रयास गरेको वि.व्य.स. अध्यक्ष राजन राईले बताए । आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको छ ।

सट्टा शिक्षक राख्न निबेदन आए पनि नियम अनुसार सट्टा शिक्षक राख्न नसकिने निर्णय गर्न लाग्दा प्रअमाथि आक्रमणको प्रयास भएको हो । मापसे गरेर प्रअमाथि आक्रमण गर्न खोजेको जानकारी आएपछि प्रहरी र कर्मचारीलाई पठाएर शिक्षक राईलाई नियन्त्रणमा लिइएको नगर प्रमुख इवन राईले बताए ।

Loading...