सीमा जोगाउन कम्मर कसौं : सीमाविद् श्रेष्ठ

मुख्य समाचार शिक्षा

भक्तपुर, २९ वैशाख, २०७६ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले देशको सीमा जोगाउन हामी सबै कम्मर कसेर लाग्नुपर्नेमा जोड दिएका छन् । सीमा मिचिमिची पनि हामी नेपाली चुपचाप बसिरहनु पर्ने दुःखको कुरा भएको उनले बताए । त्यसकारण आजका विद्यार्थीमा देशभक्ति भावना जगाई सीमा रक्षाका लागि लाग्नुपर्ने उनले जोड दिए ।

भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इङ्लिस स्कूलले २०७६ सालमा स्कूलमा भर्ना भएका विद्यार्थी र तिनका अभिभावकको सम्मानमा शनिबार गरेको फ्रेसर वेलकम (नयाँंलाई स्वागत) कार्यक्रममा सीमाविद् श्रेष्ठले हाम्रा आफ्नै कमजोरीका कारण सीमा मिचिरहेको बताए । ‘देशको रक्षा गर्नु, सीमानाको रक्षा गर्नु हामी सबैको कर्तव्य हो’, उनले भने, ‘देशलाई हामी सवैले प्रेम गर्नुपर्छ ।’

कार्यक्रममा प्रमुख अतिथि बुद्धिनारायण श्रेष्ठद्वारा लिखित दुई वटा पुस्तक सीमाना र भूकम्प स्कूललाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा किड्स पाराडाइज स्कूलका प्रिन्सिपल अर्चना भण्डारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले स्कूल गतिविधिका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम पनि देखाएका थिए ।