गुट र उपगुटको कल्पना नगर्नुस् : महामन्त्री कोइराला

मुख्य समाचार राजनीति

सिन्धुली, २८ वैशाख, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । कम्युनिष्ट सरकारको हावादारी गफले मुलुक गम्भीर अवस्थामा रहेको उनले बताए । नेपाल मगर संघको ३ नं. प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले पार्टीमा एकता हुन आवश्यक रहेको जनाए । ‘पार्टीमा एकता हुन पर्यो’, उनले भने–’गुट र उपगुटको कल्पना समेत नगर्नुस् ।’ गुट र उपगुटको बढि चर्चा भएकाले पार्टीलाई धरासायी बनाएको उनको भनाई छ । ‘हाम्रो पार्टीमा कुनै तिक्तता नभए पार्टीलाई कसैले हराउन सक्दैन’, उनले भने, ‘पार्टीभित्रको तिक्तता हटाएर कार्यकर्ताको संरक्षण गर्न सके हामी सधैँ पहिलो पार्टी हुन्छौ ।’ टिकट वितरणमा समेत केन्द्रको हस्तक्षेप भएकाले पार्टी हारेको भन्दै स्थानीय तहको टिकट स्थानीय तहले नै बाढ्न सक्ने अवस्था ल्याउनुपर्ने बताए ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतले सरकारले प्रेस माथि हस्तक्षेप गरेर संसारमा नभएको कानुन पत्रकारमाथि लगाएको आरोप लगाए । ‘पत्रकारलाई हत्यारा भन्दा ठुलो कानुन लगाउने गरी नियम बनाइयो’, उनले भने– ‘१ करोड जरिवाना र १५ वर्ष कैद हत्यारालाई पनि नलाग्न सक्छ ।’ प्रेस स्वतन्त्रताको अधिकार कांग्रेसले सुनिश्चित गरेको भन्दै उनले सूचनाको अधिकारलाई सर्वव्यापी कांग्रेसले बनाएपछि गाउँदेखि शहरसम्म सञ्चारमाध्यम खुलेको बताए ।

Loading...