आगलागी पीडितलाई गाउँपालिकाले दियो राहत

प्रदेश मुख्य समाचार

खोटाङ, २७ वैशाख, २०७६ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ । वैशाख २४ गते राती भएको आगलागीमा सर्वस्व गुमाएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका अग्नी पीडित टेकबहादुर विकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो ।

सर्वस्व गुमाएर विचल्लीमा परेका परिवारलाई नगद २० हजार, ६० केजी चामल, नुन, तेल, पाल, कम्बल, भाँडाकुँडा लगायतका बन्दोबस्तीमा सामान प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । आगलागीमा घर गुमाएका विक हाल परिवारसहित ससुरालीमा बसिरहेका छन् ।

सहज जीवन यापनमा सहयोग पुर्याउन अग्नी पीडितलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।