समृद्धिका लागि कृषि, पर्यटन र उर्जाशक्तिको विकास : कांग्रेस नेता पौडेल

मुख्य समाचार राजनीति

उदयपुर, २७ वैशाख, २०७६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्ेलले मुलुकलाई समृद्ध बनाउन कृषि क्रान्ति, पर्यटन र उर्जाशक्तिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको ‘जागरण अभियान’को शिलशिलामा उदयपुर आइपुगेका नेता पौडेलले नेपाल प्रेस युनियतद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कृषि, पर्यटन र उर्जाशक्तिको विकासबाट मात्र देश समृद्ध हुने कुरामा जोड दिएका हुन् ।

नेता पौडेलले समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारले अघि सारेको नारा अनुसार देश अघि बढाउन मुलुकमा कृषि क्रान्ति अपरिहार्य रहेको, पर्यटन विकास र उर्जाशक्तिलाई व्यापक बनाउनुपर्ने सुझाव दिए । तर, देशको वर्तमान अवस्था हेर्दा सरकारले अघि सारेको नाराको खिल्ली सरकार आफैँले उडाइरहेको उनको बुझाई थियो । जनता पिउने पानी र खेतबारीमा सिंचाई गर्नसमेत नपाइरहेको बेला सरकार भने पानी जहाज कुदाएर देश समृद्ध बनाउँछु भन्दै सपना बाँड्दै हिडेकोमा उनको असहमति थियो ।

पौडेलले कम्युनिष्ट सरकारले आफ्नो सत्ता टिकाइराख्ने राम्रो अवसरलाई सदुपयोग गर्न नसकेको टिप्पणी गरे । नेकपाको दुईतिहाई बहुमतको सरकारले जनताको दैनन्दिन कार्यमा कुनै परिवर्तन गर्न नसकेको भन्दै उनले बहुमतको सदुपयोग गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको उनको भनाई थियो । ‘कम्युनिष्ट शासनमा विकास कस्तो हुन्छ भनेर हेर्ने चाहना जनताको थियो’ पौडेलले भने, ‘त्यहीँ चाहना पूरा गर्न जनताले दुईतिहाई बहुमत दिएका थिए । तर,बहुमतको सरकारले जनताको भावनामा तुसारापात गरिदियो ।’

पार्टीभित्रको आन्तरिक किचलो तथा चरम गुटबन्दी र भावी नेतृत्वबारे उठेको प्रश्नबारे प्रस्ट्याउँदै नेता पौडे्लले बाहिर भनिएजस्तो कुनै गुटउपगुट र चरम विवाद पार्टीभित्र नरहेको दावी गरे ।

Loading...