स्काभेटरमा अपरिचित समूहद्वारा आगजनी

मुख्य समाचार समाज

रौतहट, २७ वैशाख, २०७६ । रौतहटको गुजरा नगरपालिकाको खतबैया टोलमा अपरिचित समूहले सडक बनाउने एक निर्माण कम्पनीको एक्जाभेटरमा आगजनी गरेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी पूर्वाधार निर्माणको लागि रमण सगरमाथा र सगुन जेभी कन्सट्रक्सन खतवैयामा सडक निर्माण गर्न ठेक्का पाएका थिए । बिहिबार गुजरा नपा–६ स्थित खतवैया टोलमा निर्माण कम्पनीले गाउँको सडक बनाउने क्रममा दुई पक्षबीच वादविवाद भएर सडक निर्माण कार्य रोकिएको थियो ।

सडकको काम रोकिएपछि निर्माण कम्पनीले पार्किङ गरेर राखेको एक्जाभेटरमा अपरिचित समूहले आगो लगाइएर पूर्ण रुपमा क्षतिग्रस्त गराएको छ ।

बाटो निर्माणका लागि सगुन कन्सट्रक्सनले प्रयोग गरेको स्काभेटरमा आगजनी गर्दा स्काभेटर क्षतिग्रस्त भएको रौतहट प्रहरीका डिएसपी नविन कार्कीले बताए । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए । बाटो निर्माणका क्रममा स्थानीयसँग विवाद भएकोमा स्काभेटरमा आगजनी हुनु घटना शंकास्पद रहेको उनले जानकारी दिए । घटना सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।