काण्डै काण्डमा मुछिएका डिएसपी कुमुद ढुङ्गेल : डनसँगको साँठगाँठदेखि लुटपाटसम्म !

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २६ वैशाख, २०७६ । एकताका नेपाल प्रहरी संगठनमा ‘सिंघम’ नामले परिचित डिएसपी कुमुद ढुङ्गेलको हिरोगिरी धेरै दिन टिक्न सकेन । प्रहरीको बर्दीमा डनगिरी र चोरीगिरीमा समेत सम्लग्न भएको प्रमाण फेला परेपछि प्रहरी प्रधान कार्यालयले वैशाख २१ गते निलम्बन गर्यो ।
यसअघि विभिन्न घटनामा अनैतिक र पेशागत मर्यादाभन्दा बाहिर रहेर अनावश्यक फाइदा लिइरहेको आरोप लागेका डिएसपी ढुङ्गेल गत चैत २६ गतेको एक चोरी घटनामा संलग्न देखिएपछि निलम्बनमा परेका हुन् ।

को हुन् डिएसपी कुमुद ढुङ्गेल ?
वि.सं. २०६१ सालमा प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका ढुंगेल ओमविक्रम राणा आईजीपी हुँदा उनको निवासमा थिए । राणाले नै उनलाई प्रहरी सेवामा प्रवेश गराएको स्रोतको दाबी छ । प्रहरी सेवा प्रवेश गरेपछि लगातार चार वर्ष काठमाडौंमा घुमुवा बसेका ढुंगेलले तस्कर, माफिया र गुण्डासँग सम्पर्क बढाएको आरोप लगाइन्छ ।

राजधानीका गुण्डा नियन्त्रणमा प्रमुख हात रहेको भनिएका ढुंगेलले २०७० ताका दरबारमार्ग वृत्तमा ६ महिना इच्चार्ज पाएका थिए । २०७२ भदौमा उनी डिएसपीमा बढुवा भएका हुन् । लामो समय राजधानीमै बसेका ढुंगेल वि.सं. २०७३ भदौताका रामेछापको प्रहरी प्रमुख भएर गएका थिए । केही समय मोरङ पनि पुगेका डिएसपी ढुङ्गेल हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा कार्यरत छन् । विभिन्न अनुसन्धान र कारबाहीमा सफल मानिएका ढुङ्गेल विवादरहित भने कहिल्यै रहेनन् ।

डिएसपी ढुङ्गेलका काण्डहरु
काण्ठ एकः रामेछापमा जीप चालकको हत्या घटना

झापाका जीप चालक विशाल खड्कालाई रामेछापमा गाडीभित्रै राखेर आगो लगाइएको घटना हुँदा ढुङ्गेल रामेछाप प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । स्थानीय डनले कुमुदको प्रभावलाई कम गर्ने र प्रहरीलाई दुःख दिने नियतले सो घटना घटाइएको देखिन्छ । तर कुमुद सो अनुसन्धानमा सफल भए र अपराधीहरुलाई कानुनी कारबाही गर्न सफल भए ।

काण्ड दुईः चरीकी प्रेमिकासँगको सम्बन्ध
२०७१ साउन २८ गते डन भनिने दिनेश अधिकारी उर्फ चरीको हत्यापछि उनकी प्रेमिका भनिएकी खुश्बु ओलीले डिएसपी ढुङ्गेलमाथि विविध आरोप लगाएकी थिइन् । चरीका दाजु ध्रुव अधिकारीले प्रहरीले षड्यन्त्रपूर्वक चरीको हत्या गरेको भन्दै अदालतमा २०७१ साउन ३० मा मुद्दा दर्ता गरेका थिए । रिटमा प्रतिवादी बनाइएका ५ जना प्रहरी अधिकारीहरुमा तत्कालिन इन्सपेक्टर कुमुद ढुङ्गेलको पनि नाम थियो । सो रिट दर्तापछि खुश्बुले आफूलाई ढुङ्गेलले मन पराएको तर आफूले अस्विकार गरेको मिडियामा भन्दै हिडेकी थिइन् । आफूसँग नजिक बनेर चरीको रेकी गरेको र हत्या गरेको पनि खुश्बुको आरोप थियो । ढुङ्गेलले पटक पटक भेट्ने गरेको उनी बताउँछिन् । चरीको हत्यापछि उनीहरुको सम्बन्ध पनि बिग्रियो ।

काण्ड तीनः चोरीका गाडी
ढुंगेलमाथि हनुमानढोकामा घुमुवा छँदा चोरीका गाडी बरामद गरी भन्सारमा पार्टस झिकेर बुझाउने र पुनः आफन्तकै नाममा गाडी सकारेर विक्री गर्ने गरेको उजुरीसमेत अख्तियारमा परेको थियो । पछि उनी सफाई पाउन एआईजी वीरेन्द्रबाबु श्रेष्ठको सेटिङमा अख्तियार गई उजुरी तामेलीमा राख्न सफल भएको स्रोत बताउँछ ।

काण्ड चारः मिटर ब्याजका कारोबारी
मिटर व्याजका नाइकेहरुसँग मिलेर उच्च प्रहरी अधिकृतको पैसा व्याजमा खेलाउँदै हाकिमलाई रिजाएर मोजमस्ती गर्दै आएको अर्को आरोप उनीमाथि छ । मिटर व्याजमा पैसा लगाउँदा कालिमाटीका सुरेन हाडा फरार भएपछि आफूले पैसा लिएकाहरुलाई व्याज तिर्न उनले लाजिम्पाट स्थित भेनस रेष्ट्रोमा हात हालेको बताइन्छ । यद्यपि उनी उक्त रेष्टुरेन्टका लगानीकर्ता नभएको स्रोतको दाबी छ । काभ्रेका एक डनले खोलेको रेष्टुरेन्टलाई धाकधम्की र दबाब दिई आफ्नो स्वामित्वमा पारेका हुन् । स्रोतका अनुसार ढुंगेलले पूर्वएआईजी नवराज ढकाल, गंगा पाण्डेलगायत एक दर्जन प्रहरी अधिकृतको पैसा सस्तो व्याजमा लिएर मिटर व्याजमा लगाउँदै आएका छन् । हाडाका अलवा वीरेन्द्रलाल श्रेष्ठजस्ता प्रहरीको निगरानीमा रहेका व्यक्तिसँग पनि कारोबार गर्दै आएको बताइन्छ ।

काण्ड पाँचः गोलघरको गोलचक्कर
गोलघरमा रहेका गुण्डा नाइके समिरमानसिंह बस्नेत, चोरीका नाइके विकास श्रेष्ठ, बाहुन डन भनिने सुजन पौडेल र रिगल भनिने योग ढकाल लगायतसँग डिएसपी ढुङ्गेलको साँठगाँठ रहेको स्रोत बताउँछ । निक्कै कडा बन्दीगृह मानिएको गोलघरमै बसेर चोरी, लुटपाट, हप्ता असुली तथा निर्माण व्यवसायीहरुलाई धम्की दिने कार्यहरु भइरहेको प्रहरीले नै स्वीकार गरेको छ । उनीहरुका ती योजनामा ढुङ्गेलको पनि सहभागिता रहने गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याका मुख्य योजनाकार मानिएका गोलघरमा रहेका समिरमान लगायतका मिलेर हाल धादिङ क्षेत्रमा बालुवा, ढुङ्गा र क्रसर उद्योग खोल्ने तयारीमा छन् । आदालतको मुद्दा सल्टाउन उनी आर्थिक स्रोत जुटाउन लागेको बताइन्छ । मुद्दा आफ्नो पक्षमा पार्न मोटै रकम खर्च गर्नुपर्ने देखेपछि उनी पैसा कमाउन लागेको स्रोत बताउँछ । डिएसपी ढुङ्गेलका नातेदारसमेत समेत हुन् समिरमान । उनको मुद्दा खारेज गर्ने सेटिङमा डिएसपी ढुङ्गेल सक्रिय रुपमा लागेको बताइन्छ ।

काण्ड छः चोरीमा संलग्नता
पछिल्लो समय चोरीमा संलग्न देखिएपछि प्रहरी प्रधान कार्यालयले डिएसपी ढुङ्गेललाई बर्खास्त गर्यो । काठमाडौँको रानीबारीका लालेन्द्र शेरचन्दको घरमा छिरेर धारिलो हतियार देखाउँदै ५ लाख ६० हजार नगद लुटेको आरोपमा विकास श्रेष्ठ नामका व्यक्ति पक्राउ परे । जसको अनुसन्धान गर्ने क्रममा प्रहरीले डिएसपी ढुङ्गेलले श्रेष्ठलाई चोरी अघि र पछि पटक पटक भेटेको, फोन र म्यासेज आदानप्रदान गरेको प्रमाण भेटेपछि निलम्बन गरेको छ । उनीमाथि हाल प्रहरी प्रधान कार्यालयले नै अनुसन्धान गरिरहेको छ ।

काण्ड सातः राम्रो जुत्ता, घडी, मोबाइल त देख्नै नहुने
डिएसपी ढुङ्गेल निलम्बनमा परिसकेपछि हाम्रो सम्पर्कमा यस्ता केही व्यक्तिहरु पनि आए जसलाई उनले पटक पटक खुलेआम लुटिसकेका छन् । साथी बनाउन र हिमचिम बढाउन खप्पिस ढुङ्गेलले साथीभाइको राम्रो जुत्ता, घडी, मोबाइल, सिक्रीसमेत थुतेर हिड्ने गरेका थिए । राम्रो मोबाइल देखेपछि आफ्नो मोबाइल दिएर साटेर पनि हिडेको देखेको एक जनाले नाम नबताउने सर्तमा हामीलाई सुनाए । आफ्नो सिक्री लिएको र फिर्ता नगरेको अर्का एक जनाले सुनाए । विदेशबाट आउँदा ल्याएको जुत्तासमेत ढुङ्गेलले जफत गरेको उनीहरु बताउँछन् ।
यता पक्राउ परेका ट्यापे, टोले गुण्डा, डन लगायतका समेत घडी, मोबाइल नछोड्ने गरेको स्रोतको दाबी छ ।

काण्ड आठः डनहरुसँग उठबस
गुण्डाका नाइके समिरमान सिंह बस्नेत, बलराम सापकोटा ‘बले’, वीरेन्द्रलाल श्रेष्ठ, रिगल ढकाल, भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ, मिनकृष्ण महर्जनलगायतसँग उनको सम्बन्ध रहेको बताइन्छ । उनीहरुसँग मिलेर हप्ता असुली, दादागिरी तथा अन्य अपराध कार्य गर्दै आएको स्रोतको दाबी छ ।

काण्ड नौः हप्ता असुली
डिएसपी ढुङ्गेल आफैँ प्रत्यक्ष रुपमा पनि हप्ता असुलीमा सम्लग्न रहेको पाइएको छ । उनले राजधानीका ठूलादेखि साना व्यापारी तथा धनाड्य व्यक्तिहरुलाई फोन गरी पैसा माग्ने र बार्गेनिङ गर्ने गरेको पाइएको छ । हप्ता असुलीमा आफू नगई सई दिपेश कौशिकलाई पठाउने गरेको एक व्यापारीले सुनाए । उनका अनुसार डिल आफैँ गर्ने तर पैसा उठाउने बेला सई कौशिकलाई प्रयोग गर्ने गरेका छन् ।

डिएसपी ढुङ्गेलमाथि अब कारबाही के ?
डीएसपी ढुंगेललाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले बतायो । यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गरी कारबाही गर्ने प्रतिक्रिया दिएका छन् । यो केश प्रहरी प्रधान कार्यालयको कानून शाखाले नै हेरिरहेको छ । विशेष रुपमा अनुसन्धान गरिरहेको यो केशको विषयमा कोही पनि प्रहरी अधिकारीहरु बोल्न तयार छैनन् । प्रवक्ताको जिम्मेवारीमा रहेका डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘यो विषय प्रवक्ताको कार्याधिकारभित्र पर्दोरहेनछ त्यसैले मसम्म यो विषयको अपडेट आएको छैन ।’ कारबाहीकै मुद्दा भए पनि के कति र कसरी कारबाही हुन्छ अहिले भन्न नसकिने उनले बताए । अहिले अनुसन्धान र छानविनमै रहेकोले यस विषयमा आफूले धेरै बोल्न नमिल्ने एसएसपी धीरजप्रताप सिंहले बताए ।

तस्विर: फेसबुकबाट साभार

Loading...