अहिले स्वाद फेरेर बोल्न त पाइन्छ ! — डिल्लीराज अर्याल

मुख्य समाचार विचार

हो, अहिले स्वाद फेरेर बोल्न त पाइन्छ तर मात्र बोलेर, बोल्न पाएर के हुन्छ? केही हुन्छ? हुने भए संविधान निर्माणका बेला अधिकांश जनताले के बोलेका थिए? के सुझाव दिएका थिए? र के भयो ? अरू त कुरै छोडौँ । हामी अत्यधिक जनताले दिएका लिखित सुझाव समेत कसैले सुन्यो? अहँ सुनेन। कहीँ सुनियो त? सुनिएन।

हामी अधिकांशले त चिन्न, जान्न पनि पाएनौँ क-कसले हामीले चाहे भन्दा फरक सुझाव दिए र तिनको कसरी सुनियो? किन हाम्रो सुनिएन ? त्यो त तिनै सुझाव दिनेले र सुन्नेले नै जान्लान् र बताए तिनैले बताउलान्। अरू हामीजस्ता जनता त बोल्ने र तिनले बोलेको सुन्ने, तिनले गरेको हेर्ने मात्र हो रहेछ हाम्रो लोकतन्त्रमा ! गजब छ हाम्रो लोकतन्त्र, जनतालाई बोल्न त दिन्छ तर बोलेको सुन्दैन । सुनिहाले पनि धेरैले भनेको भन्दा केहीले भनेको मात्र सुन्दो रहेछ। ठूला बडाका मात्र सुन्दोरहेछ।

बोल्न त दाम्लामा बाँधिएका गाईभैँसी पनि पाउँछन् । बोलेकै हुन्छन्। कराएकै हुन्छन् । जुवामा नारिएका गोरू पनि डुक्रिएकै हुन्छन् । पिञ्जडामा थुनिएका सुगा, मैना पनि बोल्न पाएकै हुन्छन् तर त्यस्तो बोलीको अर्थ हुन्छ? हुँदैन

हेरेनौँ र जन्म मिति नै फेरेर माथिल्लो निकायमा पुगेर अझ म्याद गएपछि पनि जागिर खाएका कुरा ! हेरेनौँ र आफू फसिने भयमा इमान्दार भनिएका, ठानिएकालाई नै महाअभियोगको प्रस्ताव ल्याएका कुरा! किलोका किलो सुन आएका कुरा ! आएका सुन बाटैमा हराएका कुरा। नम्बरै फेरबदल गरेर छेकथुन गरेका कुरा । हेर्दैछैनौँ र फौज्दारी अभियोग लागेका पनि निलम्बनमा नपर्ने भन्ने हल्लाका कुरा। निर्मला पन्त लगायतका घटना र तिनका आवाज कसले सुन्यो? कहाँ सुनियो? हामीले देख्ने, सुन्ने कुरा त यिनै रहेछन् । बोल्ने कुरा पनि यिनै रहेछन् त्यो पनि पत्रिकामा पढेका, सञ्चार माध्यमबाट सुनेका भरमा।

हामीले बोल्न पाएकै हो भने भन्न सक्नुपर्‍यो त्यसो हो भने सेवारत कर्मचारी, प्रहरी,सेना वा अरू कुनै व्यक्तिले त्यो वा त्यस्ता खाले छुट किन नपाउने ? पाउने हो भने फौज्दारी अभियोग लाग्नुको के अर्थ? अभियोगै नलगाए हाइसञ्चो ! बोल्न भन्न सक्यौँ भने पनि सुनुवाइ कसको हुन्छ हाकिमहरूको कि कारिन्दाको? जनताको कि प्रतिनिधिको ? के यो पनि जनताको सुझाव हो? राय हो? जनताले बोल्न पाउनुको अर्थ कतै छ? भएको देखिन्छ?

यहाँ त जनताको हित केमा ? भन्ने कुरो रहेन । देशको हित केमा ? भन्ने कुरो भएन । कुरो अर्कै छ जो जनतासम्म पुग्नै पाउन्न । रह्यो बोल्न पाउनुको कुरा । बोल्न त दाम्लामा बाँधिएका गाईभैँसी पनि पाउँछन् । बोलेकै हुन्छन्। कराएकै हुन्छन् । जुवामा नारिएका गोरू पनि डुक्रिएकै हुन्छन् । पिञ्जडामा थुनिएका सुगा, मैना पनि बोल्न पाएकै हुन्छन् तर त्यस्तो बोलीको अर्थ हुन्छ? हुँदैन।
तिनको बोलीकोे अर्थै छैन, हुन्न भने तिनले बोल्न पाइयो भनेर खुशी हुनुको कुनै अर्थ हुन्छ ? तिनले बोल्न पाउनुको कुनै अर्थ हुन्छ?

हामीले बोल्न पाउनुको अर्थ त्यही वा त्यस्तै हो त? बोल्नुको, बोल्न पाउनुको अर्थ त तब बल्ल हुन्छ जब बोलेको सुनिन्छ । त्यसमा विचार विमर्श हुन्छ । उचित अनुचित के हो विश्लेषण हुन्छ, उचित भए त्यसलाई कार्यरूपमा ल्याइन्छ । नत्र गोठका गाईभैँसी, भेडाबाख्रा बोल्नु र हामी बोल्नुको भिन्नता के? अर्थ के ? एउटै हो भने त्यस्तो बोल्न पाउनुको अर्थ, बाेल्न पाउनुकाे गाैरव के?
मलाई त त्यस्तो बोल्न पाउनुको अर्थ भए जस्तो लाग्दैन र त्यसमा गर्वबोध पनि हुुन्न र त भन्ने गर्छु- बोल्नुको अर्थ हुनै पर्छ। भन्नेले भन्दै गरून्-ऐले त स्वाद फेरेर बोल्न पाइन्छ।

हामीले खोजेको, चाहेको बोल्न पाउनु गाईभैँसीको बाेल्नु जस्तै होइन र अर्थ नलाग्ने बोलाइको अवसर पनि चाहिन्न। स्वाद फेरेर बोल्नुको अर्थ अर्थहीन बोली किमार्थ होइन ।