विप्लवका कार्यकर्ता पक्राउ गर्न हवाई फायर

मुख्य समाचार राजनीति विषेश समाचार

रुकुम, २७ वैशाख, २०७६ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई हवाई फायर गरी प्रहरीले पक्राउ गरेको छ । नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्दा हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

जिल्ला अध्यक्ष शर्मालाई रुकुम नगरपालिका– ५ को सल्लाबोटबाट पक्राउ गरिएको थियो । पक्राउ गर्न खोज्दा प्रहरीसँग प्रतिवाद गरेर भाग्ने प्रयास गरेपछि बाध्य भएर दुई राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । शर्मासहित अन्य पाँच जना युवाहरु रहे पनि प्रहरीले भने एक जनालाई मात्र पक्राउ गर्न सफल भएको छ ।

साना सहरी आयोजना मार्फत सञ्चालित चौरजहारी रिङ रोड निर्माणको काममा अवरुद्ध गरेर पैसा माग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीको भनाई छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शर्मासँग रहेका अन्य युवाहरुसँग एउटा पेस्तोल समेत रहेको थियो । पेस्तोलसहित ती युवा भने भागेका छन् । शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी जवान घाइतेसमेत भएका छन् ।