सरकारी विद्यालयका ३ सय ४२ विद्यार्थीलाई चिनिया दूतावासको छात्रवृत्ति

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, २७ वैशाख, २०७६ । काठमाडौस्थित चिनिया राजदूतावासले उपत्यकाका विभिन्न २३ वटा सरकारी विद्यालयहरुमा अध्ययनरत ३ सय ४२ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गरेको छ । चिनिया राजदूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बिहीबार ललितपुर हात्तिवनस्थित लिटिल एन्जेल स्कुलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको उपस्थितिमा आर्थिक सहायता प्रदान गरेको हो ।

प्रति विद्यार्थी रु १० हजारका दरले आर्थिक सहायता प्रदान गर्दै नेपालका लागि चिनिया राजदूत हौ यानछीले नेपाल र चीनबीच ऐतिहासिक कालदेखि प्रगाढ रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न नेपाली विद्यार्थीहरुले भविष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन् । साथै राजदूत हौले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासलाई अझ मजबुत पार्ने उद्देश्य अनुरुप होप स्टार चाइनिज एम्बेसडर स्कलरशीप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । कुनै पनि देशको भविष्य त्यस देशका युवाहरुमा भर पर्ने भएकोले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मेहनत गरेर अध्ययन गर्ने विश्वास राजदूत हौले व्यक्त गरिन् । साथै चिनिया राजदूत हौले समारोहमा सहभागी विद्यार्थीहरुलाई छात्रवृत्तिको सही सदूपयोग गर्न र उच्च शिक्षा अध्ययन पश्चात नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा लाग्न समेत आग्रह गरिन् ।

dav

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणी पोख्रेलले होप स्टार चाइनिज एम्बेसडर स्कलरशीप कार्यक्रम नेपालको शैक्षिक विकासको लागि महत्वपूर्ण रहेको बताए । मन्त्री पोख्रेलले नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदैै आएको आर्थिक तथा प्राविधिक सहयोगको लागि धन्यवादसमेत ज्ञापन गरे । उनले चिनिया राजदूतवासबाट सुरुवात गरिएको होप स्टार छात्रवृत्ति कार्यक्रमलाई शहरी क्षेत्रदेखि नेपालका दूर्गम क्षेत्रसम्म पुर्याउन चिनिया राजदूतलाई आग्रह गरे । नेपाल र चीनबीच प्राचीन कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको भन्दै मन्त्री पोख्रेलले राष्ट्रपति विद्यादेवी भण्डारीको भर्खरै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ आयाम तर्फ अघि बढेको बताए । नेपाल र चीनबीच बारम्बार भइरहेका उच्च भ्रमण, भेटघाट र समझदारीहरुले आपसी सहयोगको दायरालाई फराकिलो बनाउँदै लगेको मन्त्री पोख्रेलले बताए । चीनद्वारा अघि सारिएको वेल्ट एण्ड रोड इनिसिएटिभको कार्यढाँचालाई उच्चतम रुपमा प्रयोग गर्दै आपसी हितका विभिन्न विषयमा सहकार्य गर्नु आजको आवश्यकता हो भन्दै मन्त्री पोख्रेलले नेपाल सरकार चीनले अघि सारेको एजेन्डामा सधैँ साथ रहेको जानकारी दिए ।

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले चिनिया राजदूतावासले शुभारम्भ गरेको होप स्टार चाइनिज एम्बेसडर स्कलरशीप कार्यक्रम नेपाली विद्यार्थीहरुको लागि अत्यन्त महत्वपूर्ण र उपयोगी रहेको भन्दै छात्रवृत्ति प्राप्त भएपछि कुनै पनि गरिब तथा जेहन्दार विद्यार्थीहरुले बीचैमा विद्यालय छाड्न पर्ने दूर्भाग्यपूर्ण अवस्था नआउने विश्वास व्यक्त गरे ।

समारोहमा २३ वटै विद्यालयहरुलाई विभिन्न शैक्षिक सामग्रीहरु समेत प्रदान गरिएको थियो ।