लगानीका लागि प्रदेश पाँच उपयुक्त

प्रदेश मुख्य समाचार विषेश समाचार

रुपन्देही, २५ वैशाख, २०७६ । प्रदेश नम्बर ५ सरकार लगानीको वातावरण बनाउन सफल भएको दावी गरेको छ । सरकारले लगानीको वातावरण बनाएकै कारण प्रदेशको आर्थिक वृद्धिदर ७.३७ प्रतिशत पुगेको जनाएको छ ।

मंगलबार मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजजिक गर्दै सरकारका प्रवक्ता एव्म भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले लगानीका लागि प्रदेश ५ लाई रोजेकै कारण आर्थिक वृद्धिदर उच्च देखिएको बताए । ‘लगानीको वातावरण बनेकै कारण आर्थिक बृद्धि भएको हो, यसमा पर्यटन, कृषि र सेवामूलक उद्योगमा लगानी भित्रिएको छ’ उनले भने ।

सात वटा प्रदेशभरिमा प्रदेश ५ मा लगानीका लागि उपयुक्त वातावरण बनेको चर्चा भइरहेको उनको दाबी छ । प्रवक्ता चौधरीले प्रदेशको पूँजीगत खर्च झन्डै २५ प्रतिशत खर्च भइसकेको बताए । उनले असार मसान्तसम्म खर्चको दरलाई बढाउने बताए । सरकारले रातो किताबमा नपरेको योजनामा रकामान्तरसमेत नगर्ने उनले स्पष्ट पारे । कतिपय योजनामा भने बजेटकै अभाव रहेको बताए । खानेपानीको ९६ करोड र सिचाईँको ८६ करोड बजेट भुक्तानी दिन बाँकी रहेको उनले बताए ।

मन्त्रिपरिषद बैठकले चीनको कान्सु प्रान्तसँग प्रदेश ५ ले सांस्कृतिक र पर्यटकीय सम्बन्ध कायम गर्दै भ्रमणका समझदारी गरेर सुपुर्दर्गीका लागि संघीय सरकारलाई पठाउने निर्णय गरेको छ । आउँदो मई १४ मा चीनबाट प्रदेश भ्रमण गर्न आउने कार्यक्रम रहेकोसमेत प्रवक्ता चौधरीले जानकारी दिए । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखको कार्यालयलाई बजेट अधिवेशन आह्वानका लागि पत्र पठाएको छ । पत्र प्राप्त भएपछि प्रदेश प्रमुख उमाकान्त झाले बजेट अधिवेशन आह्वान गर्ने छन् ।