प्रधानमन्त्री ओली कसैलाई मान्छे नै गन्दैनन् : कांग्रेस वरिष्ठ नेता पौडेल

मुख्य समाचार राजनीति

सिन्धुली, २५ वैशाख, २०७६ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति कसैलाई मान्छे नगन्ने प्रकारका अभिव्यक्ति भएको टिप्पणी गरेका छन् । कम्युनिष्ठ पार्टीका दुई टाउके सत्ता नै असन्तुलित देखिएको छ, नेपाल प्रेस युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले भने–’केपी ओली कसैलाई मान्छे नगन्ने अनि नेकपाकै अर्का अध्यक्ष प्रचण्ड कहिले जङ्गल जान्छु भन्ने कहिले के भन्नेजस्ता असन्तुलित अभिव्यक्ति दिएका छन् ।’

मंगलबार संसदमा पारित भएको नीति तथा कार्यक्रमको विषयमा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारमा रहेर अलोकतान्त्रिक मानसिकता देखाएको आरोप लगाए । ‘लथालिङ देशको भताभुङग चाला जसले सक्छ उसले खाला’ भनेर सरकार लागेको भन्दै देशमा आर्थिक र राजनीतिक अराजकता मौलाएको बताए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गरेर ११ प्रदेशको कुरा ल्याएर जनतालाई झन् कन्फ्युज बनाएको पौडेलको भनाई छ ।

सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले संसदमा पारित भएको नीति तथा कार्यक्रममार्फत वर्तमान सरकारको चरित्र प्रतिनिधित्व भएको बताए ।