प्रदेश एकको राजधानी विराटनगर, नाम राख्न भने अझै सकस

प्रदेश मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २५ वैशाख, सोमाबर बसेको प्रदेशसभा बैठकले प्रदेश एकको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी बनाउने निर्णय गरेको छ । बैठकले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउ भन्ने प्रस्तावलाई सर्वसम्मतले पास गरेको हो ।

प्रस्ताव पास भए पनि वृहत विराटनगर क्षेत्र प्रदेश राजधानी बन्ने भएको छ । सो क्षेत्रमा सुनसरीको इटहरी, मोरङको सुन्दरहरैंचा र विराटनगरको आसपासका क्षेत्रमा कार्यपालिका, व्यवस्थापिका लगायतका संवैधानिक कार्यालयहरू रहने छन् ।

बैठकमा ८६ सांसद उपस्थित थिए । जम्मा ९३ सांसद रहेकोमा ६ जना अनुपस्थित थिए । विपक्षी नेपाली कांग्रेसलेसमेत आफ्नो प्रस्ताव फिर्ता लिएर विराटनगरलाई समर्थन गरेपछि सर्वससहमति जुटेको हो । जसले गर्दा विराटनगरको विपक्षमा कसैको पनि आवाज नै उठेन ।

प्रदेश राजधानी विराटनगर बनाउन सत्तारुढ दल नेकपाले यसअघि नै निर्णय गरिसकेको थियो । नेकपाको तर्फबाट प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव अघि सारेका थिए ।

यता प्रदेश एकको नाम के राख्ने भन्ने विषयमा अझै सहमति जुटेको छैन । सत्तारुढ नेकपाले प्रदेशको नाम कोशी राख्न दबाब दिइरहेको बुझिएको छ तर प्रदेशका सांसदहरूमा सहमति नजुट्दा र लिम्बुवान लगायतका जाति र समूहले आन्दोलन सुरु गरेपछि निर्णय थप पेचिलो बन्दै गएको छ । लिम्बूवान प्रदेश नाम राख्न माग गर्दै केही अहिले विराटनगर क्षेत्रमा धर्नामा बसेका छन् ।