अफिम र चरेससहित एकजना पक्राउ

ट्राफिक/प्रहरी समाज

धादिङ, २३ वैशाख, २०७६ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलाबाट अफिम र चरेससहित एकजना पक्राउ परेका छन् । सोमबार बिहान लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौँ र धादिङ प्रहरीबाट खटिएको टोलीले लागुऔषध अफिम ९७८ ग्राम र चरेश ४७ किलोग्राम फेला पारेको हो ।

सोतीखोला स्थित कच्ची सडकमा भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नं को इएसटीइइएल भिएक्सआई लेखिएको मारुती सुजुकी कारको पछाडिको सिट मुनि फल्स बटम बनाई ४ वटा रातो रंगको प्लाष्टिक पोकामा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए ।

पक्राउ पर्नेमा कारका चालक कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं ४ उत्तर बेहडी बस्ने ४६ वर्षीय काल्चे बोहोरा रहेका छन् । राजमार्ग हुँदै राजधानी प्रवेश हुने र राजधानी हुँदै बाहिरी जिल्ला र भारत तर्फ जाने सवारीसाधनमा अवैध लागु औषधको कारोबार बढ्न थालेपछि प्रहरीले निगरानी राख्न थालेको छ । रातीको समयमा पनि प्रहरी खटाइने गरेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

तस्विर: सांकेतिक

Loading...