प्राथमिकतामा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य

मुख्य समाचार रोजगार विषेश समाचार

काठमाडौ, २३ वैशाख, २०७६ । सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित र स्वास्थ्य कार्यस्थल निर्माण गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । काम गर्नेस्थल सुरक्षित भए मात्र उत्पादन वृद्धि गर्न सकिने र समृद्ध नेपालको सपना पुरा हुने उनीहरुले बताए ।

‘१९ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह—२०७६’ को अवसरमा आयोजित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड र कार्यविधि ल्याउने तयारी सरकारको रहेको बताए । १९ वर्षसम्म विषय उठानमात्र भएको र अबको एक वर्ष भित्रमा नीतिगत कार्ययोजना आउने सचिव दाहालले बताए ।

कार्यक्रमका सभाध्यक्ष श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझाले सुरक्षित र स्वस्थ्य भएर काम गर्ने वातावरण निर्माण गर्न सकिए मात्र मानविय तथा भौतिक क्षति कम हुने बताए । नेपाल सरकार, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना र बाल विकास समाजको ब्यवस्थापनमा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, ट्र्ेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।