किसानको करोडौँ नतिरी चिनी उद्योग बन्द !

आजको बजार कृषि मुख्य समाचार

गौर, २२ वैशाख, २०७६ । भुक्तानीको लागि करोडौँ रुपैया बाँकी राख्दै उद्योग बन्द भएपछि किसानहरुमा फेरि निराश बढेको छ । विगतका वर्षहरुको ८ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैया भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको हो ।

गत पुस महिनामा संचालनम आएको उद्योगले १३ लाख ७७ हजार १०४ क्वीन्टल उखु क्रसिङ गरेको छ । गत वर्षको रकम निकै बाँकी रहेको हुनाले किसानले उद्योगलाई उखु बिक्री गर्ला कि नगर्ला भन्ने आशंकाबीच संचालनमा आएको उद्योगले अपेक्षाकृत राम्रो उखु पाएको थियो । उद्योगले उखु पाउन थालेपछि किसानको भुक्तानीमा उद्योगले चासो दिएको थिएन । समयमा भुक्तानी नदिँदा गत वर्षकै ८ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

उद्योगले १ लाख १३ हजार क्वीन्टल भन्दा बढी चिनी उत्पादन गरेको छ । उद्योग बन्द हुनासाथ चिनीको भाउ बढ्ने सम्भावना रहेको छ । चालू क्रसिङ सिजनमा नेपालका अधिकांश चिनी उद्योगले राम्रो मुनाफा कमाउने देखिएको विश्लेषकहरु बताउँछन् ।

उद्योगले किसानलाई भुक्तानी दिनुपर्ने करिब ६८ करोड रुपैया बाँकी राखेकोले अब आफूहरुले भुक्तानीको लागि पहल सुरु गर्ने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले जानकारी दिएका छन् ।

Loading...