वन मुद्दाका २ फरार अभियुक्त पक्राउ

मुख्य समाचार समाज

उदयपुर, २२ वैशाख, २०७६ । वर्षौंअघि वन मुद्दामा दोषी करार भए पनि फरार रहेका उदयपुरका दुई अभियुक्त प्रहरीको पञ्जामा परेका छन् । वन मुद्दामा आरोप लागेर जिल्ला अदालत उदयपुरबाट ५ महिना कैद र १ लाख ३ हजार ८ सय ७५ रुपंैया जरिवाना तोकिएका फरार अभियुक्त त्रियुगा नगरपालिका– २ जोगीदहका ३३ वर्षीय सुन्दर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीसँगै अर्का वन मुद्दाकै फरार अभियुक्त पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । वन मुद्दामै अदालतबाट दोषी ठहर हुँदै २० दिन कैद र २३ हजार ६ सय जरिवाना तोकिएका त्रिनपा– २ कै राजिन भन्ने राजेन्द्र चौधरी पनि पक्राउ परेको प्रहरीले जनाएको छ । सुन्दरलाई शुक्रबार र राजिनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर अम्मर गजमेरले बताए ।

उनीहरु दुवैलाई आईतबार अदालतको जिम्मा लगाइएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । उनका अनुसार प्रहरीबाट बुझे लगत्तै दुवै अभियुक्तलाई आइतबारै अदालतले कारागार चलान गरेको छ ।