फोर्न सक्दिन यो घर [कविता] — डिल्लीराज अर्याल

मुख्य समाचार साहित्य

(आमाको मुख हेर्ने दिनको सन्दर्भमा)

कोही आमा भनी घोक्छन् बाबालाई परै गरी
कोही बाबा भनी थाक्छन् आमालाई परै गरी
दुवैमा छ उही भाव सच्चा छन्, हुन् दुवै भने
जिम्मेवारी दुवैको छ, माया,यौटै छ पाइने ।

बाबा भएर पो आमा, अनि पो बल्ल जीवन
टाढा नजिकमा पार्नु अलग्याई उसै किन ?
विना बाबु कहाँ आमा? आमाको रूप सुन्दर ?
विना आमा कहाँ बाबु? कर्तव्य पूर्ण हुन्छ र?

जान्ने सुन्ने बनेको छ मान्छे फत्तुर बोल्दछ
दुवैमा भिन्नता खोज्छ, पक्षमा मात्र बोल्दछ
होला कर्तव्यमा भिन्न,होलान् आकारमा पनि
महत्त्वमा कहाँ भिन्न? कसरी मान्दछन् तिनी?

निधारमा दुवैका छन् चाउरी,दु:खका कथा
दुवैका मनमा पीडा,पीर,हर्ष,कथा ब्यथा
मिली, सारा चिरी कष्ट दिए जीवन हैन र?
बुझेर बोल के हुन्नन्- बाबु आमा बराबर ?

दिनले तिथिले होलान् केही यताउता तर
एउटा आउँदा औंसी अर्को नआइ छोड्छ र?
चिसो-तातो, हिलो-सुख्खा के यै संसार हैन र?
के एकातिर लागेर न्यायी बन्न सकिन्छ र?

भो म छुट्टिन चाहन्न, मिल्काउन्न धरोहर
लिएर पक्ष यौटाको फोर्न सक्दिन यो घर
बाबु-आमा हुँदै हुन्नन् एक्लिएपछि सुन्दर
त्यसैले एउटै भाव राख्छु सुन्दर, सुन्दर ।