‘ओखरा’ र ‘खोप्रो’ मा लोकगीतको साधना गर्ने परम्परा हराउँदै

मुख्य समाचार विचार

– डा.षडानन्द पौड्याल
(लोकगीत सर्वसाधारण मानिसहरूका सिर्जनामा रमण गर्ने विधा हो । लोकगीत जुनसुकै ठाउँ र समयमा गाउन सकिन्छ । समाजमा मनोरञ्जन, जागरण, शिक्षा, आर्थिक उपार्जनका लागि लोकगीतको उपयोग गरिएको हुन्छ । धवलागिरि अञ्चलको मगर समाजमा ओखरामा गीत गाउने तथा ब्राह्मण, क्षत्री समाजमा खोप्रोमा गीत गाउने परम्परा रहेको पाइन्छ । यहाँको मगर समाजमा प्रचलित ओखरा स्वतन्त्रतापूर्वक लोकगीतको अभ्यास गर्ने स्थान भएको र खोप्रो लुकीछिपी गीत गाउने ठाउँ भएको हुँदा नेपाली लोकगीतको साधनास्थलका रूपमा ओखरा र खोप्रोको पहिचान बनेको पाइन्छ । यस विषयमा केन्द्रित रही लोकगीत साधनाका बारेमा चर्चा गरिएको छ ।)

१. विषय प्रवेश
लोकगीत सर्वसाधारण मानिसहरूका घरआगनमा फुल्ने तथा फक्रने विधा हो । गाउँले जीवनमा रमण गर्ने र औपचारिक शिक्षा आर्जन गर्न नपाएका मानिसहरूका सिर्जनामा लहराउने लोकसाहित्यको विधा लोकगीत हो । नेपाली समाजका विभिन्न भूगोलमा मानिसहरूले मनका विरह, व्यथालाई समन गर्न गीत गाउने निश्चित ठाउँ बनाएका हुन्छन् । जसलाई लोकसाहित्यको अध्ययनका सिलसिलामा रोदीघरको नामबाट निकै चर्चा भएको छ तर ओखरा र खोप्रोका बारेमा भने उल्लेख भएको पाइदैन । नेपाली समाजमा गीत गाउने ठाउँलाई ओखरा, खोप्रो जस्ता नामबाट पनि चिनाउने गरिएको छ । नेपाली लोकगीतको उन्नयनमा ओखरा र खोप्रोको योगदानको खोजी आजको समयमा अपिरहार्य विषय भएको छ । लोकसाहित्यमा यिनको कुनै किसिमबाट चर्चा नभएको हुँदा लोकगीतको साधना गर्ने स्थान आफैँ लोप हुन लागेका छन् । धवलागिरि अञ्चलको पर्वत जिल्लाको उत्तरी क्षेत्र, म्याग्दी जिल्लाको मगर समाज र बागलुङ जिल्लाको मगरबस्तिमा ओखरा बस्ने परम्परा रहेको छ भने यहाँको ब्राह्मण तथा क्षत्री समाजमा गीत गाउने ठाउँलाई खोप्रो नामकरण गरेको पाइन्छ । नेपाली लोकगीतको साधना गर्ने ओखरा र खोप्रो समसामयिक समयमा अध्ययनका विषय बनेका छन् । लोकसाहित्यका अध्येता लोकगीतको खोजीका लागि सहर तथा महलतर्फ लाग्दैनन्, उनीहरू गाउँमा सरल जीवन बिताउने मानिसहरूका समीपमा रहन्छन् । समाजका सर्वसाधारण मानिसहरूले लोकगीतको अभ्यास गर्ने ठाउँ ओखरा र खोप्रोमा जान्छन् । ओखरा र खोप्रोमा प्रचलित लोकगीतहरूको सङ्कलन गर्छन् । तसर्थ नेपाली समाजका सर्वसाधारण मानिसहरूले लोकगीतको अभ्यास गर्ने ठाउँ भनेका ओखरा र खोप्रो हुन् ।

२ ओखरा
नेपाली लोकगीतको साधना गर्ने ठाउँको नाम ओखरा हो । धवलागिरि अञ्चलको मगर समाजमा ओखरामा गीत गाउने प्रचलन रहेको पाइन्छ । गीत गाउनका लागि मगर समाजका मानिसहरू ओखरामा जम्मा हुने र विशेष गरी रातको समयमा गीत गाउने गरेको पाइन्छ । लोकमा प्रचलित बनेका भाका तथा नयाँ भाकाको पनि ओखरामा गाएर त्यस्ता गीतको प्रारम्भिक प्रयास हुन्थ्यो । गीत गाउनका लागि निकै चर्चित बनेको यस ठाउँमा मगर समाजका युवायुवतीहरूको विशेष संलग्नता रहने भए पनि वृद्धवृद्धाहरू ओखराका आकर्षक बन्दथे । उनीहरूबाट नयाँ पुस्ताका कला भएका युवायुवतीहरूले गीतको उठान र बैठानलाई टिप्दथे । लोकगायिका धनकुमारी थापाको भनाइ छ— “हामीहरू ओखरामा गीत गाउन बस्थ्यौँ । मगर समाजमा गीत गाउन बस्ने कामलाई ओखरा बस्ने पनि भनिन्थ्यो । गीत गाउनका लागि निश्चित ठाउँ हुन्थ्यो तर कसैको घर, गोठ, आँगन वा यस्तै ठाउँमा पनि ओखरा बसिन्थ्यो । बाआमाले पनि ओखरा बस्न जान अनुमति दिनुहुन्थ्यो । कसैकी छोरी ओखरामा गीत गाउन गइन भने उसलाई कर लगाएर नै पठाउने काम गरिन्थ्यो । ओखरामा राम्रो प्रतिभा प्रस्तुत गर्न सकेका मानिसहरू विस्तारै जिल्लातिरका कार्यक्रममा भाग लिन जान्थे । मैले पनि आफ्नो प्रतिभा खार्ने काम ओखराबाट गरेकी हुँ । ओखरामा राम्रो प्रतिभा देखाउनेहरूले कलाकारको परिचय पाउँथे भने लोकमा रहेको सम्पत्ति ओखरामा संरक्षित बन्थ्यो । प्रतिभाको पहिचान गर्ने ठाउँ ओखरा बन्थ्यो ।” तसर्थ लोकगीतको अभ्यास, विकास र विस्तारमा सहयोग गर्ने ओखरा मगर समाजका लागि गीतको साधना गर्न मौलिक पहिचान बनाएको स्थान हो ।

२.१ नामकरण
गाईवस्तुलाई खुवाउनका लागि कोदोको नल, धानको पराल, मकैको ढोड/डाँठ जम्मा गरेर राख्ने ठाउँलाई स्थानीय भाषामा ओसारा भनिन्छ । यसलाई गोठ पनि भनिन्छ । ओसारामा विशेष गरी माथिल्लो तलामा उल्लेखित वस्तु राखिन्छ भने तल्लो तलामा गाईबस्तु बाँधिन्छ । घरभन्दा अलिपर रहेको ठाउँमा ओसारा बनाउने भएकोले यसले एकान्त स्थललाई बुझाउँछ । एकान्तमा बसेर ओसारामा गीत गाउने भएकोले समाजमा ओखरा बस्ने अर्थ भएको हुने सम्भावना रहेको छ । मगर समाजका युवायुवटीहरू ओखरामा जम्मा हुने र दिनभरिको थकाइ मेट्न समाजमा प्रचलित गीत गाउने भएकोले गीत गाउने ठाउँ जनाउने ओसारा शब्द समयक्रममा ओखारामा परिणत भएको पनि होला । ओसारामा बस्ने सन्दर्भसँग जोडिएका गीतको उठान गर्ने विषयलाई जनाउनका लागि आखर शब्दको प्रयोग हुन्छ । गायनमा पहिलो उच्चारण वा थालनी गर्ने विषयलाई आखर भनिन्छ । लोकगीतमा पहिलो आखरको विशेष महत्त्व रहेको हुन्छ । पहिलो आखरबाट नै गीतको लय निर्धारण हुन्छ । पहिलो आखर निकाल्ने ठाउँ भन्ने अर्थमा ओखरा शब्दको प्रयोग भएको पनि विश्वास गर्न सकिन्छ । गीतको पहिलो आखर भनेको सिर्जनाको प्रारम्भ पनि हो । गीत सिर्जना हुने ठाउँ भन्ने अर्थमा पनि ओखरा शब्द प्रयोग भएको हुन सक्छ । ओखराको नामकरण जेजसरी भए पनि स्वतन्त्र रूपमा लोकगीत गाउने ठाउँ ओखरा हो ।

२.२ ओखराको सिर्जना
ओखरा लोकगीत सिर्जनाको थलो मानिन्छ । धवलागिरि अञ्चलका मगर समाजका मानिसहरूले ओखरामा बसेर स्वतन्त्रतापूर्वक नेपाली भाषामा लोकगीत गाउँछन् । अगिल्लो र पछिल्लो पुस्ताले एकसाथ गीत गाउने भएको हुँदा ओखरा नेपाली लोकगीतको साधनास्थल बन्न पुग्छ । ओखरामा सबै प्रकारका भाकामा गीत गाइन्छ । विशेष गरी ओखराका आकर्षण भनेका झाम्रे, यानीमयाँ, सालैजो, सुनीमयाँ जस्ता लोकगीत हुन् ।

२.२.१ झाम्रे गीत
धवलागिरि अञ्चलअन्तर्गत बगलुङ जिल्लाको अधिकांश भूभागमा ओखरामा झाम्रे गाउने प्रचलन रहेको छ । राङ्खानीका गोर्या सिरस (श्रीस) मगरले नेपाली लोकगीतमा झ्याउरे गीतको चलन चलाएको दिनबहादुर थापा लेख्छन्— “वि.सं.१८७४ तिर गो¥या सिरस र मानवीर खत्रीले गाउन लगाएको जुहारी गीतलाई नेपाली लोकगीतको पहिलो झ्याउरे गीत भनी नामकरण गरिएको र झ्याउरे गीतको उत्पत्ति पनि बागलुङ जिल्लाको राङ्खानीबाट भएको हो (थापा, २०६६ : ८७) ।” यस भनाइबाट धवलागिरि अञ्चलको मगर समाजबाट झाम्रे गीतको प्रचलन भएको विश्वास गरिएको छ । मगर समाजका मानिसहरूले ओखरामा गीत गाउने र झाम्रे गीत मगर समाजबाट नेपालका अन्य जाति तथा समाजमा विस्तार भएको बोध हुन्छ । ओखराको उपज मानिएको पर्वत झाम्रे गीतलाई जिल्लाका बिर्खे पुनले नेपाली समाजमा निकै प्रचारप्रसार गराएको पनि विश्वास गरिएको छ । सात दिन सात रातसम्म झाम्रे गाउने गरेको म्याग्दी जिल्ला रत्नेचौर निवासी लोकगायक वीरबहादुर कार्की र लोकगायिका देवी घर्ति मगर स्वीकार गर्दछन् । ओखरामा गीत गाउने समाजको प्रचलनबाट झाम्रे गीत ओखराको सिर्जना भएको विवेच्य भनाइ तथा सन्दर्भबाट विश्वासिलो आधार तयार भएको छ ।

समसामयिक समयमा नेपाली समाजमा झ्याउरे लय निकै प्रचलनमा रहेको छ । नेपाली समाजमा बाह्रै महिना झ्याउरे गीत गाइन्छन् । झ्याउरे लयमा लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यको सिर्जना पनि गरेका छन् । नेपाली समाजमा व्यापक बनेको झाम्रे गीत ओखराको सिर्जना भएको विश्वास गर्न सकिन्छ ।

२.२.२ यानीमयाँ गीत
धवलागिरि अञ्चलका विभिन्न क्षेत्रमा प्रचलनमा रहेको यानीमयाँ गीत ठाडो र लस्के गरी दुई किसिमको रहेको पाइन्छ । ठाडो यानीमयाँ गीत समाजका सबै खालका मानिसहरूले गाउन सक्छन् तर लस्के यानीमयाँ गीत भने म्याग्दी जिल्लाको बरङ्जा, शिखदेउराली, राम्चे र नागीका मानिसहरूले मात्र गाउन सक्छन् । पर्वत जिल्लाको क्याङ्, शालिजा, बनौतिरका मगर समुदायका मानिसहरूले गाउन सक्छन् भने बागलुङ जिल्लाको गलकोट, रणसिङ कीटेनीतिरका मानिसहरूमा मात्र गाउन सक्छन् भनी लोकगायक नरबहदुर बि.सी. सुनाउँछन् । विवेच्य ठाउँहरूमा परम्परादेखि ओखरामा गीत गाउने चलन रहेको छ । समय बिताउने दृष्टिले यानीमयाँ गीत ओखराको सौन्दर्य नै हो र यसको उत्पत्ति पनि ओखरामा भएको हो भन्ने भनाइ धवलागिरि अञ्चलको मगर समाजमा रहेको छ । यस ठाउँमा गीत गाउने तथा गीतको अभ्यास पनि गरिने भएकोले यानीमयाँ गीतलाई ओखराको सिर्जना मानिएको विश्वास गर्न सकिन्छ । ओखरामा गीत गाउने समाजका मानिसहरू लस्के भाकाको यानीमयाँ गीत राह (मनका विरह र समय दुवै) काट्नका लागि गाइन्छ भन्दछन् ।

२.२.३ सालैजो गीत
सालैजो गीत ओखराको सिर्जना मानिन्छ । ओखरामा गीत गाउने युवतीलाई सम्बोधन गर्ने सालीज्यू शब्दबाट सालैजो नामकरण भएको सालैजो सम्राट् लोकगायक खड्ग गर्बुजा स्वीकार गर्दछन् । सालैजो गीत ओखरामा अभ्यास गरिन्छ । परम्परादेखि नै समाजका वृद्धवृद्धाहरूले ओखरामा बसेर यो गीत लयबद्ध रूपमा गाएर सुनाउँथे । युवायुवतीहरूले वृद्धवृद्धाका साथमा बसेर स्वरमा स्वर मिलाउने र सामूहिक वा एकल गायन गरी गीतको अभ्यास गर्ने परम्परा रहेको पनि स्वीकार गर्दछन् । ओखरामा लामो समय अभ्यास गरेर मात्र सालैजो गीत गाउन सकिन्थ्यो भन्ने भनाइ क्याङ गा.वि.स.४ लेस्पार निवासी माया पाइजा मगरको रहेको छ । वर्तमान समयमा प्रविधिका माध्यमबाट गीत गाउन सहज भएको छ । पहिले भने ओखरामा निकै अभ्यास गरेर मात्र गीत गाउने परम्परा रहेको हुँदा गीतको साधना गर्ने ठाउँ ओखरा भएको स्वीकार गर्न सकिन्छ ।

२.२.४ सुनीमयाँ गीत
यानीमयाँ गीतको निकटमा रहने सुनीमयाँ गीत आखरामा सिर्जना भएको हो भन्ने भनाइ रहेको छ । ओखरामा गीतको अभ्यास गरेका म्याग्दी बरङ्जाका लोकगायक रामबहादुर रोका मगर यो गीत ओखरामा निकै प्रचलनमा रहेको विश्वास गर्दछन् । यो गीत गाउन समाजका जोसुकै मानिसहरूले सक्दैनन् भन्ने भनाइ यिनको रहेको छ । ओखरामा सुनीमयाँ गीत गाउन सक्यो भने मात्र मेला, पर्व, जात्रामा पनि उसले सजिलै गीत गाउन सक्थ्यो भन्ने भनाइ पर्वत जिल्ला क्याङ ४ लेस्पारमा बसोबास गर्ने माया पाइजाको रहेको छ । सुनीमयाँ गीत लस्के भाकामा गाइन्छ ।

(क) ओखरामा गाइने लस्के भाकाको सुनीमयाँ गीत
हा हा हा लाहुरै जाम्ला सुनीमयाँ धन कमाइ ल्याम्ला
हा हा हा सुनीमयाँ लगाम्ला चौघेरा
हा हा हा लगाम्ला चौघेरा
हा हा हा तिम्ले र हाम्ले सुनीमयाँ लाएको माया
हा हा हा सुनीमयाँ फैलियो चौ फेरा
हा हा हा फैलियो चौ फेरा
हा हा हा फैलियो चौ फेरा ।।
हा हा हा अँधेरी लेक सुनीमयाँ फुलेको लोठ सल्ला
हा हा हा सुनीमयाँ माया लिनु मिल्ला कि नमिल्ला
हा हा हा मिल्ला कि नमिल्ला
हा हा हा मिल्ला कि नमिल्ला ।।
हा हा हा चरी भुल्यो सुनीमयाँ ऐंसेलु झाँगैमा
हा हा हा सुनीमयाँ माछी भुल्यो लेवैमा
हा हा हा माछी भुल्यो लेवैमा
हा हा हा मइर जस्तो सुनीमयाँ दुःखियालाई
हा हा हा सुनीमयाँ बसिन द्यौ छेवैमा
हा हा हा बसिन द्यौ छेवैमा
हा हा हा बसिन द्यौ छेवैमा ।।
हा हा हा गोठमा भाका सुनीमयाँ वस्तुलाई दामलो
हा हा हा सुनीमयाँ बाखरीलाई खोर
हा हा हा बाखरीलाई खोर
हा हा हा बाखरीलाई खोर
हा हा हा कहिले मया घर सुनीमयाँ कहिले मया ढोर
हा हा हा सुनीमयाँ कहिले मया ढोर
हा हा हा कहिले मया ढोर
हा हा हा कहिले मया ढोर
हा हा हा मरी जाँदा सुनीमयाँ के पो लउनु छ र ?
हा हा हा सुनीमयाँ के पो लउनु छ र ?
हा हा हा के पो लउनु छ र ?
हा हा हा के पो लउनु छ र ? (स्रोत : माया पाइजा, क्याङ ४ पर्वत ।।)

धवलागिरि अञ्चलको म्याग्दी, पर्वत र बागलुङ जिल्लाका धेरै ठाउँमा मगरहरूको बाक्लो बस्ति रहेको छ । मगर समाजमा धार्मिक तथा सांस्कृतिक पर्व, मेला, जात्रा, उत्सव आदि जुनसुकै समयमा पनि गीत गाउने चलन रहेको पाइन्छ । तसर्थ मगर समाजमा लोकगीत गाउने विषयलाई सम्मानका रूपमा लिइन्छ । घरमा यदि पाहुना आएका रहेछन् भने उनीहरूलाई मनोरञ्जन दिनका लागि परिवारका महिला सदस्यहरूले दोहोरी वा सामूहिक रूपमा एकहोरी गीत गाउने चलन पनि पहिलेको समाजमा रहेको मगर समाजका मानिसहरू स्वीकार गर्दछन् । घरपरिवारका साथमा बसेर गीत गाउने स्वतन्त्रता मगर समाजमा भएको हुँदा लोकगीतको संरक्षण, सम्बर्द्धन र विकासमा मगर समाजको योगदान अतुलनीय रहेको छ । ओखरामा मात्र गीत गाउने नभएर कसैको घरमा बसेर समाजका मानिसहरूलाई मनोरञ्जन दिने वा कसैको आगनमा भेला भएर रातको समयमा गीत गाउने चलनले पनि लोकगीतको उन्नयन मगर समाजमा भएको प्रस्ट हुन्छ । यस अञ्चलको पहिचान बनाउने गरी मगर समाजबाट जेजति लोकगायकहरूको उदय भएको छ ति सबै ओखराका उपज हुन् । धनकुमारी थापा, खड्ग गर्बुजा, मन छन्त्याल, कालिका रोका मगर, देवी घर्ती मगर, नीत चोचाङ्गी पुन जस्ता राष्ट्रिय स्तरका कलाकार निर्माणमा पनि ओखराको योगदान निकै रहेको पाइन्छ । विशेष गरी धवलागिरि अञ्चलको समाजमा बहु प्रचलित बनेका झाम्रे, यानीमयाँ, सुनीमयाँ, सालैजो, शिरफुलै मयाँ, नानीलै, रे रे साइँलो जस्ता गीतहरू ओखराका सिर्जना हुन् भन्दछन् । यी गीतहरूको उद्गम ओखरामा भएको हो भनी लोकगायक, गायिका खड्ग गर्बुजा, धनकुमारी थापा, नरबहादुर रोका, विष्णु खत्री, कालिका रोका मगर आदि कलाकार स्वीकार गर्दछन् । यिनले धवलागिरि अञ्चलका मगरहरू लोकगीतको रमझममा जन्मन्छन्, लोकगीतमा नै जीवन फुलाउँछन् र तिनको जीवनको अन्त्य पनि लोकगीतबाट नै हुन्छ भन्दछन् । मगर समाजको मानिसले आमाको काखमा रमण गर्दादेखि मृत्युशैय्यामा पुग्ने अवस्थासम्म पनि निरन्तर लोकगीत श्रवण गरिरहेको हुन्छ । तसर्थ धवलागिरि अञ्चलको मगर समाजमा प्रचलनमा रहेको ओखरा शब्दले नेपाली लोकगीतको विकासका लागि अहम् भूमिका निर्वाह गरेको पाइन्छ ।

धवलागिरि अञ्चलअन्तर्गत विभिन्न भागमा बसोबास गर्ने मगर समुदायमा ओखरामा गीत गाउने प्रचलन रहेको पाइन्छ । मगर समुदायमा प्रचलनमा रहेको ओखरा शब्दलाई रोदीघर शब्दले ओझेलमा पारेको दृष्टिगोचर हुन्छ । गीत गाउने ठाउँलाई समाजमा रोदी बस्ने चलन विकास भएपछि ओखरालाई समाजका मानिसहरूले तल्लो स्तरको शब्दजस्तो ठाने । जसले गर्दा मगर समाजमा पनि ओखरा बस्ने भनाइ हराउँदै जानलाग्यो । मगरहरूको आफ्नो पहिचान जनाउने सम्पत्ति बनेको ओखरा शब्दलाई आफैँ मगरहरूले नै उजागर नगरेको स्थानीय गायक, गायिकाहरूको भनाइ रहेको पाइन्छ । बनौ माध्यमिक विद्यालय, बनौ, पर्वतकी शिक्षिका गौमाया पुन मगर जातिका मानिसहरू गीत गाउनमा तत्लीन भएपनि समयअनुसार आफ्नो पहिचानको विषयलाई लेखन तथा प्रकाशनका विषयबाट ओखराका गीतलाई अगाडि बढाउन नसकेको स्वीकार गर्दछिन् । नेपाली लोक साहित्यको अध्ययनका सिलसिलामा वर्तमान समयसम्म पनि ओखरा शब्द र यसको उपयोगिताका बारेमा खोजी नभएको हुँदा मगर समाजबाट नै यो शब्द लोप हुन लागेको छ । ओखराको मुख्य पहिचान दिने झाम्रे, यानीमयाँ, सुनीमयाँ, सालैजो, शिरफुलै मयाँ जस्ता गीत पनि पश्चिमा संस्कृतिको अन्धाधुन्ध अनुकरण गरेको कारण र प्रभावले गर्दा ग्रमीण समाजमा विस्तारै हराउँदै जान लागेकोमा समाजका वयोवृद्धहरू चिन्तित बनेको पाइन्छ । ओखरा शब्द मगर समाजमा नै समयको क्रमसँगै हराउँदै गएको र प्रयोगमा नआएको हुँदा यसले लोकगीतको विकासमा पुर्याएको योगदान पनि उजागर हुन नसकेको समाजका मानिसहरूको स्वीकारोक्ति छ ।
धवलागिरि अञ्चलमा बसोबास गर्ने मगर समुदायका मानिसहरू ओखरामा जम्मा हुने र तिनीहरूले झाम्रे, यानीमयाँ, सुनिमयाँ, सालैजो, शिरफुलै मयाँजस्ता गीतहरू गाउने प्रचलन रहेको र त्यस ठाउँमा विशेष गरी युवायुवतीको उपस्थिति रहने गरेको क्याङ गा.वि.स. ४ लेस्पार गाउँका मगर समुदायका मानिस सहज रूपमा स्वीकार्दछन् । मगर समुदायको बसोबास भएको ठाउँमा ओखरा बस्ने भएकोले ओखरामा अरू जातिका मानिसको उपस्थिति भने खासै हुँदैनथ्यो । मगर समुदायका युवायुवतीमा रहेको प्रचलन अनुरूप केटाले केटी थुन्ने र केटीले केटा थुन्ने अनि ओखरामा साथमा बसेर आत्मसंयमका साथ गीत गाउने चलन रहेको पर्वत जिल्ला क्याङ गा.वि.स.वडा नं.४ निवासी निवर्तमान गा.वि.स अध्यक्ष नरसिंह पुन बताउँछन् । यस्तै म्याग्दी जिल्लाको चिम्खोला ८ तल्लो गाउँ बस्ने लोकगायिका धनकुमारी थापा आफूले ओखरामा गीत गाएको र मगर समाजमा प्रतिभा पहिचानको कारक ओखरा भएको स्वीकार गर्दछिन् । वर्तमान समयमा ओखरामा गीतको साधना गर्ने चलन हराएको भएपनि मगर समुदायको पहिचान जनाउने ओखराको पहिचान भने पनि यथावत् रहेको छ ।

३. खोप्रो
ब्राह्मण तथा क्षत्रीहरू समाजका मानिसहरूले खोप्रोमा गीत गाउने पुरानो परम्परा धवलागिरि अञ्चलमा रहेको पाइन्छ । करिया अमलेख हुनुभन्दा अगाडि कमारा, कमारीहरू बस्ने घरलाई खोप्रो भनिन्थ्यो । मालिकको घरमा काम गर्ने भएपनि उनीहरूको बास भने अलग्गै हुने कमारा कमारी बस्ने खोप्रो शब्दबाट बुझिन्छ । मालिकको आश्रयमा बस्ने भएको हुँदा उनीहरूका लागि निर्वाह चलाउन खासै खर्च नगरीकन टालटुल पारेर बनाइएको घरलाई खोप्रो भनिएको हो । कमारा, कमारी बस्ने सानो घर भनेर पनि त्यसलाई खोप्रो नामकरण गरिएको हुनसक्छ । अथवा उज्यालो दिने खोपो नभएको वा खोपीजस्तो भन्ने अर्थमा पनि खोप्रोको नामकरण भएको बोध हुन्छ ।

३.१ गीत साधनाको स्थल खोप्रो
कमारा कमारीहरू बस्ने बासका रूपमा परिचित खोप्रो गीतको साधना गर्ने ठाउ“का नामबाट पनि परिचित बनेको पाइन्छ । ब्राह्मण तथा क्षत्री समाजका मानिसहरूले रातको समयमा विशेषतः कमारीहरूसँग गीत गाएर मनोञ्जन गर्ने र गीतको अभ्यास गर्ने ठाउँलाई पनि खोप्रो भन्ने गरेका थिए । यस शब्दले कमारा, कमारीहरूको वासस्थान पनि जनाउने र उनीहरूलाई समाजमा गीत गाउन कुनै अवरोध नभएको अर्थ पनि दिएको छ । ब्राह्मण तथा क्षत्री समाजका युवायुवतिहरूलाई परिवार तथा समाजका अगाडि लुकेर गीत गाउनुपर्ने हुँदा उनीहरूले खोप्रोमा गीत गाएर अभ्यास गर्दथे । झ्याउरे गीतको अध्ययनका सिलसिलामा तुलसीमान श्रेष्ठ लेख्छन् — “नेपाली कविताहरू पनि संस्कृतमा लेख्ने जमानामा नेपाली भाषामा साहित्य रच्दा निन्दित हुने समयमा लोकगीतहरूलाई अवश्य नै हेयका रूपमा हेरिन्थ्यो । क्षत्री, बाहुन, नेवार आदि जातिहरूले झ्याउरे गीत नाच्न गाउन त के हेर्न, सुन्न समेत अपराध ठानिन्थ्यो । कति बाहुनका छोराहरू रोदीघरमा गीत गाउँदा जातबाट नै खसेका छन् र कति जातबाट खसेकालाई पत्या गरी चोख्याएर पुनः माथिल्लो जातमा नै स्थापित गराएका छन् । यस्ता उदाहरण हाम्रो समाजमा थुप्रै पाइन्छन् (श्रेष्ठ, २०७२ : १३) । ब्राह्मण तथा क्षत्री समाजमा रोदीघरमा गीत गाउने चलन थिएन । त्यसैले क्षत्री तथा ब्राह्मण समाजका मानिसहरू खोप्रोमा लुकेर गीत गाउँथे । गीत गाएको सार्वजनिक गर्न चाहदैनथे । लोकगायक विमलराज क्षत्रीले पनि आफूले समाजका अगाडि निर्धक्क भएर गीतको अभ्यास गर्न नपाएको सुनाउँछन् । गीत गाउने काम भनेको अरू जातिका मानिसहरूले हो, यसले गीत गाउने, मादल बजाउने, हार्मोनियम बजाउने गरेर परिवारको इज्जत फल्ने भयो भनी यिनलाई परिवारका मानिसहरूले लोकगायनका क्षेत्रमा जानबाट रोकेका थिए । लोकगायक तथा सङ्गीतकार कस्तुपराज पन्त पनि आफूले समाजका अगाडि खुलेर अभ्यास गर्न नपाएको गुनासो गर्दछन् । यसबाट बोध हुने विषय भनेको ब्राह्मण तथा क्षत्री समाजमा गीत गाउने भनेको लुकेर हो । यिनीहरूका लागि लुकेर गीत गाउने र लोकगीतको अभ्यास गर्ने ठाउँ भनेको खोप्रो नै हो । मगर तथा गुरुङ समाजमा जस्तो गीत गाउने स्वतन्त्रता ब्राह्मण तथा क्षत्री समाजका मानिसहरूलाई समाज स्वीकार्य विषय थिएन । त्यसमा पनि छोरीहरूलाई त घरबाट बाहिर निस्कन दिंदैनथे । मादल बजाएर गीत गाउने विषय धेरै परको कुरा बन्दथ्यो । तथापि रातको समयमा परिवार र समाजको आ“खा छलेर खोप्रोमा नाचगान गरी मनोरञ्जन गर्दथे । खोप्रो लोकगीत साधना गर्ने ठाउँ हो । त्यसैले समाजमा खोप्राको मादल जसले ठटाए पनि हुन्छ भन्ने भनाइ प्रचलित छ ।

(क) खोप्रे गीत
टुपी पाली नआऊ न पुरेत
हावासरी फैलिन्छ कुरो त ।।
कुम टालेको पंदले चोलोले
विश्वास घात गर्दैन छोरोले ।।
लाम छरीको तिरतिरे धारो
लाग्यो माया छुटाउन भो गारो ।।
कपालमा सिउरी दिउँला गोलैंचीको फूल
खोप्रोभित्र बोलाऊ ठुली माया चाई नभुल ।।
लरे गुन्यू ल्याइदिनु होला
माया भए बोलाउनु त्यै बेला (स्रोत : नन्दकली घर्ति, कुश्मा नपा ३, पर्वत) ।

४ निष्कर्ष
लोकसाहित्यका विभिन्न विधाहरूमध्ये लोकगीत एउटा विधा हो । लोकगीत जुनसुकै अवसर र ठाउँमा पनि गाइन्छ । लोकगीतको साधना गर्ने निश्चित ठाउँहरू नेपाली समाजमा प्रचलनमा रहेका छन् । त्यसमध्ये ओखरा र खोप्रो पनि भएको अध्ययनबाट पुष्टि भएको छ । ओखरामा स्वतन्त्र रूपमा गीत गाउन पाइन्थ्यो भने खोप्रोमा लुकेर गीतको साधना गर्ने परम्परा रहेको देखिन्छ । विशेष गरी धवलागिरि अञ्चलका मगर समाजका मानिसहरूले लोकगीतको साधना गर्ने ओखरा र ब्राह्मण तथा क्षत्री समाजका मानिसहरूले लोकगीत गाउन अभ्यास गर्ने ठाउँका रूपमा खोप्रोको चिनारी भएको छ । झाम्रे वा झ्याउरे, यानीमयाँ, सालैजो, सुनीमयाँजस्ता नेपाली समाजमा विशेष प्रख्यात बनेका गीतहरू ओखरा र खोप्रोका उपज भएको विश्वास गर्न सकिन्छ ।

ब्राह्मण तथा क्षत्री समाजका मानिसहरूले विशेष गरी खोप्रो, ओडार, चौतारो, भड्खारो, गुफा, कन्दरा, गोठजस्ता एकान्त जनाउने ठाउँमा गीत गाउने गर्दथे भनिन्छ । यस किसिमका ठाउँमा गीत गाउँदा समाजका मानिसहरूले खासै चाल पाउँदैनथे भनिन्छ । गाउँबस्तीबाट टाढा रहेको ठाउँमा मनोरञ्जन गर्ने व्यवहारलाई यो समाजका मानिसहरूले अपनाएका थिए । समाजको आँखा छलेर मनोरञ्जन गर्नुपर्ने भएकोले पनि खोप्रोमा गीत गाउने चलन चलेको ब्राह्मण तथा क्षत्री समाजका मानिसहरूको स्वीकारोक्ति रहेको छ । मगर, गुरुङ समाजमा परिवारका साथमा बसेर गीत गाउन स्वतन्त्रता थियो भने ब्राह्मण तथा क्षत्री समाजका युवायुवतीहरूलाई मगर, गुरुङ समाजमा जस्तो स्वतन्त्रता थिएन । उनीहरूले परिवार र समाजका मानिसहरूसँग टाढा रहेर गीत गाउनुपर्ने हुँदा यो समाजका युवायुवतीहरूले यस प्रकारका ठाउँलाई छानेको विश्वास गर्न सकिन्छ । जेहोस् धवलागिरि अञ्चलको समाजमा ओखरा, खोप्रो आदिमा गीत गाउने प्रचलन पुरानो भएको हुँदा नेपाली लोकगीतको संरक्षण र विस्तारमा यिनको अहम् भूमिका मानिन्छ । कमारा कमारीहरूका साथमा बसेर खोप्रोमा गीत गाउने होस् वा समाजमा स्वतन्त्र रूपमा ओखरामा गीत गाउने किन नहोस् नेपाली लोकगीतलाई समाजमा जीवित राख्न विवेच्य ठाउँहरूको विशेष योगदान रहेको छ । यिनलाई लोकगीतको साधनास्थल स्वीकार गर्न सकिन्छ । तर लोकसाहित्यमा यिनको कुनै किसिमबाट चर्चा नभएको हुँदा लोकगीतको साधना गर्ने स्थान आफैँ लोप हुन लागेका छन् ।

सन्दर्भ सामग्री
खत्री, देवेन्द्रबहादुर (२०५८). “खुवा क्षेत्रमा प्रचलित लोकगीतहरूको सर्वेक्षण र अध्ययन” (स्नातकोत्तर तहको शोधपत्र). काठमाडौँ : नेपाली केन्द्रीय विभाग ।
गिरी, जीवेन्द्र देव (२०६७). नेपाली लोक साहित्यमा जन जीवन. काठमाडौ : एकता प्रकाशन ।
छोटा, प्रेम (२०४२). “लोकगीत र लोकसंस्कृतिको सङ्गम—गलेश्वर मेला” मधुपर्क. (वर्ष १८, अङ्क ११, पूर्णाङ्क २०२, पृ. ७०—७५) ।
थपा, दिनबहादुर (२०५०). “गलाकोट क्षेत्रमा प्रचलित लोकगीतहरूको सर्वेक्षण र अध्ययन” (स्नातकोत्तर शोधपत्र). काठमाडौँ : नेपाली केन्द्रीय विभाग ।
———, (२०६६). धवलागिरिको पहिचान : झाम्रे गीत. बागलुङ : दीप अमृत प्रकाशन ।
थपा, धर्मराज र हंसपुरे सुवेदी (२०४१). नेपाली लोकसाहित्य. काठमाण्डौं : त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र ।
न्यौपाने, कुसुमाकर (२०४४).”पैयुँखोले लोक गीतको सङ्कलन, वर्गीकरण र विश्लेषण” नेपाली स्नातकोत्तर तह, अप्रकाशित शोधपत्र, कीर्तिपुर : नेपाली केन्द्रीय विभाग ।
———, (२०६०). “धवलागिरि अञ्चलमा प्रचलित लोकगीत : एक अध्ययन”. (लघु अनुसन्धान). काठमाडौँ : विश्वविद्यालय अनुदान आयोग ।
———, (२०६६). “पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन” (अप्रकाशित शोधप्रबन्ध). कीर्तिपुर : त्रिभुवन विश्वविद्यालय ।
पन्त, कालीभक्त (२०२८). हाम्रो सांस्कृतिक इतिहास. स्याङ्जा : लेखक स्वयम् ।
———, (२०३३). हाम्रा गीत सुधारको राष्ट्रिय बाटो. स्याङ्जा : लेखक स्वयम् ।
पराजुली, कृष्णप्रसाद (२०६४). नेपाली लोकगीतको आलोक. (दो.सं.). काठमाडौँ : रत्न पुस्तक भण्डार ।
पराजुली, मोतिलाल र जीवेन्द्र देव गिरी (२०६८). नेपाली लोक साहित्यको रूपरेखा. ललितपुर : साझा प्रकाशन ।
पौड्याल, षडानन्द (२०७३). “नेपाली लोकगीतमा धवलागिरि अञ्चलको योगदान : एक अध्ययन”. (लघु अनुसन्धान) काठमाडौँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान ।
मल्ल, राधिका (२०५८). “म्याग्दी जिल्लामा प्रचलित नेपाली लोकगीतको अध्ययन”. (स्नातकोत्तर तहको शोधपत्र). काठमाडौँ : नेपाली केन्द्रीय विभाग ।
श्रेष्ठ, तुलसीमान (२०७२). झ्याउरे गीतको अध्ययन. काठमाडौँ : श्रीमती भगवती श्रेष्ठ ।
सुवेदी, होमनाथ (२०३१). “छन्त्याल संस्कृति—एक परिचय” गरिमा (वर्ष ७, अङ्क ६).पृ.७१—८३ ।

Loading...