आमाप्रति विशेष सम्मान प्रकट गर्दै मातातीर्थ औंशी मनाइयो

कला/संस्कृति मुख्य समाचार

काठमौँ, २१ वैशाख, २०७६ । प्रत्येक वर्ष वैशाख कृष्ण औंशीको दिन मनाइने मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन आज आमाहरुप्रति विशेष सम्मान प्रकट गर्दै मनाइएको छ । आमा हुनेहरुले प्रत्यक्ष भेटेर मिठो, मसिनो खानेकुरा खुवाएर, उपहार दिएर तथा आमा नहुनेहरुले आमाको सम्झना गरेर यो पर्व मनाए ।

माताका लागि भनेर आज फलफूल, मिठाई, कपडा, गरगहना खरिद गर्नेले पनि आज बजार भीडभाड बनेको थियो ।

आज काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको थियो । प्रत्येक वर्ष वैशाख कृष्ण औंशीको दिन यहाँ मेला लाग्ने गर्दछ । वैशाख कृष्ण औँशीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा उक्त कुण्डमा दिवंगत भएकी आफ्नी माताको स्वरुप देखेपछि सो स्थानमा माताको प्रतिमा स्थापना गरी श्राद्ध गर्न थालिएको किंवदन्ती पाइन्छ।

यहाँ भेलाहुने भक्तजनहरुले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गर्दछन्। आजको दिनमा मातातीर्थ कुण्डमा स्नान गर्दा आफ्नी मृतक आमाको मुक्ति मिल्ने मान्यता रहिआएको छ।

यसैगरी देशका विभिन्न स्थानहरुमा पनि आज मेला लाग्ने गरेको छ ।

#कीर्तिपुर, पाँगा दोबाटो स्थित पूजा स्वीटमा मातातीर्थ औंशीकोलागि सजाइएको मिठाई, तस्विर: आजको खबर