बालगृहका बालबालिकालाई स्कुलब्याग सहयोग

मुख्य समाचार शिक्षा

दोलखा, २१ वैशाख, २०७६ । जिल्लाको गौरीशंकर बालगृहमा रहेका असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कुलब्याग सहयोग गरेका छन् । भीमेश्वर नगरपालिका– ५ मा रहेको गौरीशंकर बालगृहका २९ जना बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले स्कुलब्याग वितरण गरेका हुन् ।

थापाले शनिबार बिहान बालगृह पुगेर २५ हजार बराबरको स्कुलब्याग, मिठाई र खानेकुरा बाँढे । थापाले बालगृहमा रहेका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट वर्षेनी सहयोग गर्दै आएको पनि सुनाए । अघिल्लो वर्ष ओच्छ्याउने तन्नाहरु साथै दुई वर्ष अघि स्टेशनरी सामग्री सहयोग गरेको उनले सुनाए ।

आश्रमका केन्द्र प्रमुख सुरज विष्टका अनुसार व्यवसायी थापा वर्षको एक पटक सहयोग बोकेर बालगृहमा आउने गरेका छन् । ‘उहाँहरुको परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ त्यही अनुसारको सामान बोकेर सहयोग गर्ने गर्नुभएको छ’ विष्टले भने । थापा चरिकोट स्थित सातदोबाटो चोकका हार्डवयर लगायतका व्यवसायमा संलग्न छन् ।

बिष्टका अनुसार बालगृहमा अहिले २९ जना बालबालिका छन् । नेपाल बाल संगठनद्वारा सञ्चालित यो बालगृह संगठनकै बजेटबाट चल्ने गरेको छ । यस्तै बेला बेलामा सहयोगी भावना भएका मनकारी मानिसहरुलेसमेत ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो हुने गरेको विष्टले बताए ।