नेपाल आर्मीले हुरीबाट क्षति भएका घरहरुको पुनर्निर्माण थाल्यो

प्रदेश मुख्य समाचार

बारा, २१ वैशाख, २०७६ । गएको चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएको घरहरुको नेपाल आर्मीले पुनर्निर्माण कार्य सुरु गरेको छ । वर्षा अघि नै क्षति भएको घरहरुको पुनर्निर्माण गर्नको लागि तीन चरणमा गरिने सेनाका चन्दन गणका गणपति कर्णेल पारस विक्रम शाहले बताएका छन् ।

पहिलो चरणमा एक महिना भित्रमा सकिने गरी चार सय ८२ वटा घरहरु निर्माण गरिने र त्यसै गरी दोस्रो र तेस्रो चरणमा गरी साउन अन्तिम हप्तासम्ममा पूर्ण क्षति भएका घरहरुको निर्माण कार्य पुरा गर्ने लक्ष्य लिएको शाहले बताए ।

हुरी पीडितको लागि निर्माण गर्न लागिएको घरमा दुई वटा कोठा एउटा बरण्डा र एउटा वाथरुम रहेको जनता आवास कार्यदलका सदस्यसमेत रहेका नेपाली सेनाका इन्जिनियर महेन्द्र सिजापति थापाले बताए । एउटा घरको निर्माण कार्यमा मूल्य अभिबृद्धि करसहित पाँच लाख ४५ हजार खर्च हुने थापाले जनाए । हुरीबाट १३ सय ६२ घरहरुमा क्षति पुगेको थियो ।

हुरीमा क्षति भएको फेटाको पुरैनियामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परवानीपुरको चैनपुरमा उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रसौनीको खुटवा जब्दीमा गृहमन्त्री रामबहादुर थापा, कलैया उपमहानगरपालिकाको फुलबारीया र देवतालको रमपुर्वामा मूख्यमन्त्री लालबाबु राउत गद्दी, सुवर्णको हर्दियामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, लगायतले १० स्थानमा निर्माण हुने घरहरुको शिलान्यास गरेका नेपाली सेनाले जनाएको छ ।