गाउँपालिकाको कार्यालय तोडफोड गरी सामान चोरी

प्रदेश मुख्य समाचार

गजुरी, २० वैशाख, २०७६ । धादिङको गजुरी गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ । बिहीबार राती गाउँकार्यपालिकाको कार्यालयमा अज्ञात समूहले तोडफोड गरी सामानहरु चोरी गरेको हो ।

गाउँकार्यपालिका कार्यालयको मुल ढोका तोडी, सबै कार्यकक्षहरुको ढोका फुटाइ दराज र टेबलका घर्राहरु फुटाइ सामानहरु चोरी भएको जनाइएको छ ।

मध्यरातको समयमा कार्यालय भित्र प्रवेश गरी ल्यापटप २ थान, मुभि क्यामेरा १ थान, डिएसएलआर क्यामेरा १ थान र केही थान हार्डडिक्सहरुसमेत चोरी गरेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिए । ‘मध्यरातमा सुनियोजित रुपमा चोरी भएको छ’, अध्यक्ष बस्नेतले भने, ‘सुनियोजित रुपमा २/४ दिन रेकी गरेर सबै कुरा थाहा पाएका चोरहरुले नै चोरी गरेकोजस्तो देखिएको छ ।’

कार्यालयको सीसीटीभी फुटेजमा पनि हातमा पञ्जा लगाएका र अनुहारमा मास्क लगाएका २ अपरिचित युवाहरुले कार्यपालिका भवनको मुलगेट फुटाइ भित्र प्रवेश गरेको देखिएको छ । कार्यपालिकाको कार्यालय फोडेर इलेक्ट्रोनिक सामानहरु चोरी गरिएको भए पनि कार्यालयका कुनै पनि काजगपत्रमा भने नोक्सानी पुर्याएको छैन ।

गाउँकार्यपालिका कार्यालयमा चोरी भएपछि इलाका प्रहरी कार्यालय गजुरीले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले भने, ‘घटनाको सुक्ष्म अध्ययन गरिरहेका छौं, सिसी क्यामेरामा कैद भएका तस्विरहरु र गाउँपालिकामा यसअघि आवतजावत गरेका अपरिचित ब्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको छ ।’