राजतन्त्र फर्किन सक्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश मुख्य समाचार

रुपन्देही, १९ वैशाख, २०७६ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले जनताले चाहे राजतन्त्र पनि आउन सक्ने बताएका छन् । जनताको मन जितेर दुईतिहाइ मत ल्याउन सके देशमा राजतन्त्र पनि आउने बताएका हुन् ।

नेपाल नेत्र ज्योती संघले भैरहवामा आयोजना गरेको प्रदेश नं ५ स्तरिय प्रथम कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको संविधान २०७२ ले कुनै कुरामा रोक लगाएको छैन जनताको मन जितेर निर्वाचन मार्फत बहुमत ल्याए राप्रपाले भनेको राजतन्त्र र विप्लवले भनेको एकात्मक शासन आउन सक्छ ।

‘सविधानले केही कुरामा रोक नलगाएकोले जनताको विश्वास जित्न सक्ने हो भने सविधान संशोधन गरेर कमल थापाले राजतन्त्र पनि ल्याउन सक्नुहुन्छ, नेत्र विक्रम चन्दले एकदलीय शासन व्यवस्था स्थापना गर्न चाहनु हुन्छ भने पनि पाउन सक्नुहुन्छ तर जनताको मतबाट दुई तिहाई ल्याउन सक्नु प¥यो, जनताको विश्वास जित्न नसक्ने अनि सडकमा समस्या खडा गरेर राष्ट्रलाई कमजोर बनाउन नमिल्ने’ उनले भने ।

सविधानले कसैलाई नरोकी, जनतामा जाने हरेकका लागि बाटो सुरक्षित गरिदिएको बताउँदै रुपान्तरित सविधान भएको बेलामा राज्यलाई बलियो बनाउने राज्यलाई सस्थागत गर्ने र त्यसको माध्यमबाट जनताको विश्वास जितेर राजनीति गर्न राजनीतिक दललाई आग्रह गरे । अब सडकलाई तमाशाको विषय नबनाउन आग्रह गदै यसबाट ठगिने अरु कोही नभएर नेपाल राष्ट्र र नेपाली जनता भएकोले यस विषयमा महसुस गर्नु पर्ने बताए ।