जबरजस्ती करणी गर्ने दुईजना पक्राउ

मुख्य समाचार समाज

भक्तपुर, १७ वैशाख, २०७६ । प्रहरीले रामेछाप घर भई हाल भक्तपुर बस्ने वर्ष १४ का दुई बालिकाहरुलाई ललाईफकाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं.– ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने वर्ष १९ को विशाल तामाङ र भक्तपुर नगरपालिका वडा नं.– १० मुलढोका बस्ने वर्ष २६ को सुनिल शिल्पकारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरुलाई भक्तपुर नगरपालिका वडा नं.– १० कमलविनायकमा रहेको गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको भनी परिसरमा आइतबार परेको निवेदन अनुसार महानगरीय प्रहरी परिसरबाट प्रहरी टोली खटी गई पक्राउ गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए ।

उजुरीमा उनीहरुले वैशाख १३ गते शुक्रबार दिउँंसो १ बजे गेष्ट हाउसमा लगी बलात्कार गरेको आरोप लगाइएको छ । उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा करणी सम्बन्धी कसुरमा मुद्दामा पेश गरी म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।