विप्लवका जिल्ला इञ्चार्ज अदालतबाट रिहा भएसँगै पुनः पक्राउ

मुख्य समाचार राजनीति विषेश समाचार

हेटौडा, १६ वैशाख, २०७६ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ अदालतबाट रिहा भएसँगै पुनः पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएर रिहा भएका उनलाई सोमबारै प्रहरीले पक्राउ गरेको हो ।

गत चैत २८ गते पक्राउ परेका उनलाई फेरि अर्को मुद्दा अन्तरगत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मकवानपुर इञ्चार्ज घलानले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई हातहतियार मुद्दाको जरिवाना ६० हजार रुपैयाँ र जिल्ला अदालत मकवानपुरलाई विष्फोटक पदार्थको मुद्दामा १८ हजार रुपैंया धरौटी आइतबार बुझाएको थियो ।

जिल्ला अदालत मकवानपुरले घलानलाई गत वैशाख २ गते धरौटी लिएर छाड्न आदेश दिएको थियो । तर उनले धरौटी र जरिवाना तिर्न नमानेपछि भीमफेदी जेल चलान गरिएको थियो । आईतबार भने उनको तर्फबाट अधिवक्ता केशव गौतमले अदालत र प्रशासनमा धरौटी र जरिवाना रकम बुझाएका थिए ।

रिहा भएपछि नेकपा मकवानपुरका इन्चार्ज घलानमाथि अर्को मुद्दा भएकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक सागरविक्रम राणाले बताए ।