कालिञ्चोकमा पैदल मार्ग बनाउदै सेना

पर्यटन मुख्य समाचार

चरिकोट, १४ वैशाख, २०७६ । नेपाली सेनाले प्रसिद्ध पर्यटकीय स्थल कालिञ्चोक मन्दिर पुग्ने पैदल मार्ग मर्मत थालेको छ । पछिल्ला दिनहरुमा कालिञ्चोक पुग्ने पर्यटक ह्वात्तै बढेसँगै पैदल मार्गहरुमा चाप बढ्न थालेपछि नेपाली सेनाको चरिकोट स्थित रणभीम गणले पैदल मार्ग मर्मत तथा सुधारको काम थालेको हो ।

कालिञ्चोक भगवती जाने पैदल मार्ग घ्याङडाँडादेखि मन्दिर रहेको टाकुरोसम्म पुग्ने बाटो मर्मतका लागि गणका सेनानी सन्तोष राउतको नेतृत्वमा ३५ जना सैनिकहरुको टोलीले वैशाख ६ गते यता निरन्तर खटिएको छ । टोलीले उक्त पैदल मार्गमा बिग्रिएको ठाउँमा मर्मत गर्ने, आवश्यक स्थानहरुमा सिँढी तथा रेलिङ राख्ने काम गर्ने गणका गणपति विदुर अधिकारीले जानकारी दिए ।

कालिञ्चोकमा केबुल कार सञ्चालनमा रहे पनि त्यहाँ पुग्ने पर्यटकहरु मध्ये प्रायः पैदल मार्ग नै प्रयोग गर्छन् । कुरी बजार र घ्याङडाँडा गरेर २ स्थानबाट मन्दिरसम्म पुग्ने पैदल मार्ग छ । घ्याङडाँडाबाट छोटो रहेका कारण पैदल मार्ग प्रयोग गर्नेहरु प्रायः घ्याङ डाँडा नै पुग्छन् ।

Loading...