युएईसँग शून्य लागतमा श्रमिक लैजाने सहमति

आजका पत्रपत्रिका मुख्य समाचार रोजगार

काठमाडौँ, १४ वैशाख, २०७६ । नेपालबाट शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच नयाँ श्रम सम्झौता गर्ने सहमति भएको छ । नेपाल र युएईका प्राविधिक टोलीबीच बुधबार र बिहीबार काठमाडौँमा भएको छलफलपछि युएईले नेपाली श्रमिक लैजाँदा लाग्ने सम्पूर्ण खर्च त्यहीँका रोजगारदाता कम्पनीले नै तिर्ने गरी नयाँ श्रम सम्झौता गर्ने सहमति भएको हो ।

छलफलले नेपाल र युएईसँग नेपाली श्रमिक लैजाने विषयमा सन् २००७ मा भएको श्रम सम्झौतालाई खारेज गर्दै नयाँ श्रम सम्झौता गरेर श्रमिक लैजाने विषयमा सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मस्यौदामा रोजगारदाताको समस्याका कारण नेपाली श्रमिकले नेपाल आउन चाहने फिर्ता अनुमतिपत्र नलिई आउन सक्ने र आउने हवाई खर्च रोजगारदाताले बेहोर्नुपर्ने, समयमा रोजगारदाताले तलब नदिएर सम्बन्धित निकायमा उजुरी गरेर प्रक्रिया अघि बढेको १० दिनमा बाँकी रहेको तलब नदिए सो रोजगारदातालाई कालोसूचीमा राखी विदेशी श्रमिक लिन नपाउने गरी कारबाही गरिने पनि उल्लेख भएको आजको गोरखापत्रले समाचार लेखेको छ ।