सवारी चालक ‘लाइसेन्स’ बनाइदिने भन्दै घुस लिने २ जना रङ्गेहात पक्राउ

मुख्य समाचार समाज

पर्सा, १३ वैशाख, २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट आएको एउटा टोलीले वीरगञ्जमा ‘स्टिग अप्रेसन’ गरी दुई जनालाई पक्राउ गरेको छ । चालक अनुमतिपत्र बनाउन दलालमार्फत पैसाको लेनदेन हुने गरेको सूचना पाएको आयोगको क्षेत्रीय कार्यालयले ‘चारो’ को रुपमा नगद रुपैया दिएर रंगेहात राकेश रौनियार र सुनिल यादवलाई पक्राउ गरेको हो ।

बिचौलियाले पैसा बुझेपछि यातायात ब्यवस्था कार्यालयबाट सहजै लाइसेन्स बन्ने गरेको, नभए दुःख पाइने गरेको बढ्दो गुनासोबीच अख्तियारको टोलीले छापामारी गरे पनि दुई जना गैरकर्मचारीलाई मात्र समात्न सकेको हो ।

टोलीका एक सदस्यले दिएको जानकारी अनुसार यादव र रौनियरले ुएक्जाभेटरु को चालक अनुमतिपत्र बनाउन ७० हजार रुपैया सेवाग्राहीबाट तय गरेका थिए । यसमध्ये ३५ हजार रुपैया सेवाग्राहीले अग्रिम भुक्तान गरिसकेका थिए । नोटमा रसायन (केमिकल) लागेको थियो । यादव र रौनियरले पैसा लिए । लगतै पुगेको अख्तियारको टोलीले पैसा बरामद गरी यादव र रौनियरको हात सेतो तरलमा डुबाउदा रातो भएको थियो ।