विद्यार्थीको संख्या घटेपछि विद्यालय ‘मर्ज’

मुख्य समाचार शिक्षा

खोटाङ, १३ वैशाख, २०७६ । विद्यालयमा विद्यार्थीको संख्या घटेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एक विद्यालयलाई नजिकको छिमेकी विद्यालयमा गाभेको छ । विद्यालयमा विद्यार्थीको संख्या घटेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ को जालपादेवी आधारभूत विद्यालयलाई सिंहदेवी आधारभूत विद्यालयमा गाभिएको हो ।

बुधवार बसेको कार्यपालिकाको बैठकले विद्यार्थी संख्या कम भएको सो विद्यालयलाई नजिकको विद्यालयमा ‘मर्ज’ गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

उक्त विद्यालयमा कार्यरत शिक्षिका अम्बिका पौडेललाई साप्सु निकेतन आधारभूत विद्यालय खाम्डाँडा याम्खामा पदस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा अन्य मर्ज गर्ने खालका केही विद्यालय भए पनि भौगोलिक कारणले हिँड्न नसक्ने स–साना विद्यार्थीलाई ध्यानमा राखेर हाललाई एउटा विद्यालयलाई मात्र मर्ज गरिएको अध्यक्ष राईले बताए ।