जोशीलाई डा. बिहारीलाल श्रेष्ठ राष्ट्रसेवा पुरस्कार

मुख्य समाचार साहित्य

काठमाडौँ, १२ वैशाख, सप्तरीको सर्वोदय ग्रामीण विकास संस्थाका संरक्षक तथा वनखण्डी गुरुकुल विद्यालयका सञ्चालक काशीनाथ जोशीलाई डा. बिहारीलाल श्रेष्ठ राष्ट्रसेवा पुरस्कार अर्पण गरिएको छ । जोशीलाई डा. बिहारीलाल श्रेष्ठ स्मृति कोषले सो पुरस्कार समर्पण गरेको हो ।

डा. बिहारीलाल श्रेष्ठ स्मृति कोष र मातृभूमि सेवक संघ, नेपालले बिहीबार कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा संयुक्त रुपमा आयोजित एक समारोहकाबीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई पुरस्कार अर्पण गरे । यो पुरस्कार हरेक वर्षको वैशाख १२ गते वितरण गरिँदै आएको छ ।

पुरस्कृत स्रष्टाको बारेमा बोल्दै पुरस्कार छनौट समितिका संयोजक श्रीओम श्रेष्ठ रोदनले विवाद रहित र उच्च सम्मान प्राप्त व्यक्ति छनौट गर्न सकेकोमा आफूलाई खुसी लागेको बताए । लामो समय बेलायतमा बसेर त्यहाँको सुखसयल छोडेर मातृभूमिको सेवामा फर्किएका डा. बिहारीलाल श्रेष्ठको स्मृतिमा प्रदान गरिएको पुरस्कार त्यस्तै भावना र योगदान बोकेका व्यक्ति जोशीले प्राप्त गरेको उनले बताए । सप्तरीमा बसोबास गरिरहेका जोशी त्यहाँ शिक्षा, समाजसेवा र हिन्दूधर्म, संस्कृति संरक्षणमा क्रियाशील रहेका व्यक्ति भएको उनले बताए । यो पुरस्कार सो पुरस्कारको राशी २५ हजार एक रहेको छ ।

यसैगरी डा. बिहारीलाल श्रेष्ठ स्मृति आदर्श पुरस्कार बर्माका नेपाली भाषी सागर घिमिरेलाई प्रदान गरिएको छ । बर्मामा बसेर पनि नेपाल र नेपाली तथा नेपाली भाषाको योगदानमा घिमिरेले महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो । सो पुरस्कारको राशी १० हजार एक रहेको छ ।

मातृभूमि सेवक संघका अध्यक्ष भरतमणि रिसालको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।