‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

पर्यटन मुख्य समाचार

काठमाडौं, १२ वैशाख । विनासकारी भूकम्प, धरहरा पुनःनिर्माण अभियान र धरहरा सम्बत विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । बिहीवार काठमाडौँमा धरहरा पुनःनिर्माणको कार्य प्रगति तथा धरहरा सम्वत ००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुव गजुरेलले धरहरा पुनः निर्माणको लागि भएका प्रयासहरुको बारेमा प्रकाश पारेका थिए ।

आफूले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि करोडौ रकम संकलन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाइसकेको पनि उनले जानकारी गराए । संसारमा ९ रेक्टर स्केलभन्दा माथिका धेरै पराकम्पबाट नागरिकले ठूलो जनधनको क्षति व्यहोरिसकेको जानकारी गराउँदै उनले नेपालले पनि ७ रेक्टर स्केलका पराकम्पहरुले ठुलै क्षति गराए पनि इतिहासले आफूहरुलाई पाठ पनि सिकाएको उनको भनाई छ ।

निर्माणाधीन धरहरा भूकम्प प्रतिरोधात्मक र सुरक्षित बन्नुपर्ने भन्दै उनले प्रकाशनमा ल्याएका पुस्तक ‘इतिहासमा २०७२’ र ‘ऋतु’ बाट संकलन भएको सम्पूर्ण रकम पनि धरहरा निर्माणमा लगाइने विश्वास दिलाए ।

धरहरा निर्माणकै लागि आफूहरुले ‘हनुमानको नेपाल यात्रा’ र धरहरा बनाउने देउसी कार्यक्रमको भिडियोबाट पनि केही रकम संकलन गरेको उनको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले विनाश नै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राईटर रमन महतोले निर्माणाधीन धरहराको कार्य प्रगति र आगामी ओजनाको बारेमा जानकारी गराएका छन् । आफू सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउदै उनले सरकारसँगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण कार्यको प्रगति रहेको विश्वास दिलाए ।

प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुसँगको छलफल सम्पन्न भईसकेको र वरिपरिको सडकको बारेमा पनि छलफलकै माध्यमबाट समस्याको सामाधान निस्किसकेको उनले सुनाए । महतोले आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने आफूहरुको लक्ष्य रहेको र निर्धारित मितिमै लक्ष्य पूरा हुने विश्वास दिलाए ।