तनहुँका स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

प्रदेश मुख्य समाचार

तनहुँ, ११ वैशाख, २०७६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँको एकता प्रकृया टुङ्गिएको छ । लामो रस्साकस्सीपछि तनहुँमा स्थानीय तह र वडा तहको एकीकरण टुङ्गिएको हो ।

जिल्लामा १० स्थानीय तह र ८५ वडा रहेका छन् । मंगलबार नेकपा प्रदेश कमिटीको पोखरामा बसेको बैठकले गाउँ तथा नगर कमिटीमा रहने अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएसँगै एकता प्रकृयाले मूर्तरुप पाएको हो । वडा तहको एकता यसअघि नै भइसकेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा तत्कालिन एमाले र माओवादीलाई बराबरी भागबण्डा गरिएको छ । तत्कालिन एमालेले ३ नगरपालिका र २ गाउँपालिकामा अध्यक्ष पाएको छ । यस्तै तत्कालिन माओवादीलाई एक नगरपालिका र ४ गाउँपालिकामा अध्यक्ष दिने गरी भागबण्डा मिलाइएको छ । एमालेले अध्यक्ष पाएको स्थानीय तहमा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाएको तहमा एमालेले सचिव पाउने गरी एकता भएको हो ।

भागबण्डा अनुसार ब्यास नगरपालिका, भानु, शुक्लागण्डकी, घिरिङ गाउँपालिका र ऋषिङ एमालेले अध्यक्ष पाएका स्थानीय तह हुन् । भिमाद नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर, म्याग्दे र देवघाट माओवादीको पोल्टामा परेको छ ।

आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको यसअघि नै एकता भइसकेको थियो । घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र सचिवमा भुवन बिक तथा आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ चयन भएका थिए ।

ब्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सिताराम अधिकारी, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्तिनाथ तिम्सिना र सचिवमा बुद्धीसागर रिमाल चयन भए । ऋषिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिं गुरुङ र सचिवमा विरु थापा चयन भएका छन् ।

यस्तै भिमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमानबहादुर थापा छनोट भएका छन् । बन्दिपुर गाउँपालिकाको अध्यक्षमा विद्या क्षत्री र सचिवमा जीवन कायस्थ्य, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दिलबहादुर नेपाली र सचिवमा सोम आले तथा देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने चयन भएका छन् ।

जिल्लामा वडा तहको एकीकरण भने यसअघि नै पुरा भइसकेको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले तनहुँका १० स्थानीय तहका ८५ वटै वडाको एकता गराएको हो ।