हलेसी र पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग

कला/संस्कृति मुख्य समाचार

खोटाङ, १० वैशाख, २०७६ । जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले खोटाङको हलेसी र ताप्लेजुङको पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दीर परिषरमा आइतबार बसेको महासंघको सातौं पूर्ण बैठकले प्रदेशकै आर्थिक केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसी र पाथीभरा मन्दीरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सरकार समक्ष माग गरेको हो ।

हलेसी र पाथीभरालाई प्रदेशकै धार्मिक गन्तव्य स्थलका रुपमा विकास गरी पर्यटन प्रवद्र्धनका लागि सरकार समक्ष माग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बबी चामलीङले बताए । प्रचुर सम्भावान बोकेको हलेसी र पाथीभराको धार्मिक पर्यटन प्रवद्र्धनका लागि महासंघले पनि पहल गर्ने निर्णय भएको छ ।

महासंघले १ नम्बर प्रदेशभित्रका विकास निर्माणका सवालमा नेपाल सरकार र प्रदेश सरकारसँग पहल गर्ने, महासंघको यसअघिका विभिन्न चरणको मागका सम्वन्धमा सरकारको पुःन ध्यानाकर्षण गराउने, जलवायु परिवर्तन र युवा उद्यमशिलता सम्वन्धी तीन दिने सम्मेलन गर्ने लगायतका निर्णय गरेको छ । बैठकले फागुन १५ गते ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रबिन्द्र अधिकारीको सम्झनामा शोक प्रस्ताव पारित गरेको अध्यक्ष चामलिङले बताए ।