‘भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माणकालागि प्राधिकरणसँग बजेट नै छैन’

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, १० वैशाख, २०७६ । चार वर्ष अघि गएकाे विनाशकारी भूकम्पले ३२ जिल्लाका ७ हजार ९ सय ३२ विद्यालय क्षतिग्रस्त भए । तर हालसम्म ४ हजार ४ सय ७६ विद्यालयकाे मात्र पुनर्निर्माण हुन सकेका छन् । १ हजार ७ सय ७१ विद्यालय निर्माणाधीन छन् भने ३ सय ९८ निर्माणका लागि छनाेट भएका छन् ।

क्षतिग्रस्त भएका विद्यालयकाे २१ हजार १ सय ६९ कक्षाकाेठा पूर्णरुपमा, १२ हजार ५ सय २२ अधिक र १५ हजार ९ सय ९० कक्षाकाेठा आ‌ंशिक रुपमा क्षति भएका छन् । ती विद्यालयमध्ये करीब ३ सय ७० मर्ज भइसकेका छन् ।

९ सय ७ वटा विद्यालय त झन् पुनर्निर्माणकाे प्रक्रियामा समेत आउन सकेका छैनन् । अर्थात विद्यार्थी संख्या कम भएका विद्यालयकाे निर्माण गर्ने विषयमा सरकार अझै पनि दुविधामा छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे केन्द्रीय आयाेजना कार्यान्वयन इकाइ (शिक्षा) का आयाेजना निर्देशक इमनारायण श्रेष्ठ भन्छन्, ”१० जना विद्यार्थी र ५०/६० जना विद्यार्थी भएकाे मध्ये कुनलाई बढी प्राथमिकता दिने । त्यसैले अझै करीब हजार जति विद्यालय निर्माण हुन सकेकाे छैन ।”

क्षतिग्रस्त विद्यालयकाे पुनर्निर्माणका लागि सरकारकाे तर्फबाट ४४ अर्ब बजेट आवश्यक रहेकाे राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण बताउँछ । समयमै पुनर्निर्माणकाे काम नसक्नुमा प्राधिकरणले बजेटलाई मुख्य कारण मानेकाे छ ।

”हामीसँग विशेष गरी बजेटकै अभाव हाे ।” उनले भने, ”यदी हामीसँग पर्याप्त बजेट हुन्थ्याे भने हामीले समयमै सबै विद्यालयकाे पुर्ननिर्माण सक्थ्याै ।” बजेटका साथै आवश्यक जग्गाकाे अभाव पनि रहेकाे प्राधिकरणले जनाएकाे छ । साथै कर्मचारीकाे पनि अभाव रहेको उनको भनाई छ ।