अस्थायी शिक्षक पुनः आन्दोलित

मुख्य समाचार शिक्षा

काठमाडौं, १० वैशाख, २०७६ । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिले कुनै पनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकाली (काठमाडौं) को धर्ना कार्यक्रम यथावत राखेको र वैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

त्यस्तै, समितिले यही वैशाख १३ गते शुक्रबार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गर्ने र आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्ने पनि जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राज्यको अदुरदर्शीताका कारण विगत लामो समयदेखि देशमा तीसौं हजार शिक्षकहरु अस्थायी रुपमा काम गर्न बाध्य हुँदै आएको र सोही कालखण्डदेखि उनीहरु आफ्नो पेशागत स्थायीहरुको माग राखी आन्दोलन गर्दै आएको सर्वविदितै छ । पछिल्लो समय राज्यले अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक परीक्षाको व्यवस्था गरेको भए तापनि यो पूर्णतः विभेदित, अवैज्ञानिक र अव्यवहारिक रहेका कारण १३ हजारभन्दा बढि शिक्षकहरु छनौटमा पर्न नसकेको पनि जगजाहेर छ । जो अहिले आन्दोलनरत छन् ।’

शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिको ठहर छ । समितिले जारी गरेको विज्ञप्तिमा थप भनिएको छ, ‘हिजो योग्यता र क्षमता मापनका सबै प्रणाली उत्तीर्ण भएर नियुक्त गरिएका अस्थायी शिक्षकहरुलाई आज ३ घण्टे परीक्षामा नाम निस्केन भनेर फालिनु किमार्थ न्यायसंगत हुँदैन ।’