रिना मृत्यु प्रकरण : पथरी बजार आज पनि अशान्त

मुख्य समाचार समाज

पथरी सम्वाददाता, १० वैशाख, । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रुपा (रिना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले आन्दोलन सुरु गरेपछि पथरी बजार क्षेत्र अशान्त बनेको छ । स्थानीयहरू सडकमा निस्किएर टायर बाल्नुका साथै नाराबाजी थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ।

संघर्ष समितिले सोमबार चक्काजाम फिर्ता लिएको थियो । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको थियो ।

सो समितिले गत फागुन १६ गते मृत अवस्थामा फेला परेका स्थानीय वडा नम्बर- ७ का षडराज तामाङको परिवारले अहिलेसम्म न्याय पाउन नसकेका कारण सोको पनि प्रशासनले उचित छानविन गर्नु पर्ने माग गरेको छ ।

दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यवसायीसहित स्थानीय सोमबार सडकमा उत्रिएका हुन्। सडकमा टायर बालेर उनीहरुले नाराबाजी समेत गरेका छन् ।