नयाँ विधेयक प्रमाणिकरण, पारित विधेयकको संख्या २५ पुग्यो

प्रदेश मुख्य समाचार

विराटनगर, ९ वैशाख, २०७६ । प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङले प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक—२०७६ प्रमाणिकरण गरेका छन् । आइतबार प्रदेश प्रमुख तुम्वाहाङले प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका हुन् ।

प्रमाणिकरणपछि प्रदेश सभाबाट पारित भएका विधेयकको संख्या २५ पुगेको छ । प्रदेश सभाको काम कार्वाही सुचारू र व्यवस्थापन गर्न संविधानको धारा १९५ बमोजिम कानूनी व्यवस्था गर्न बान्छनीय देखिएकोले धारा १७५ बमोजिम प्रदेश न १ को सभाले ऐन बनाई प्रमाणिकरणको लागि पेश गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए ।

विधेयकको प्रमाणिकरणपछि सभामुखलाई प्रदेश सचिव नियूक्ति गर्न बाटो खुल्ला भएको छ । प्रदेश सचिव नियुक्तिको लागि सभामुखको सिफारिसमा प्रदेश प्रमुखले गर्ने कानूनी व्यवस्था छ । नियुक्ति हुने प्रदेश सचिव प्रमुख सचिवसरह हुने छन् । २९ दफा रहेको विधेयकमा सचिवालयको प्रशासकीय प्रमुखको रूपमा प्रदेश सचिव रहने व्यवस्था छ । सचिवले प्रदेश सभा र सचिवालयको वार्षिक बजेट तयार गर्ने, आर्थिक, प्रशासनिक सम्बन्धी आवश्यक काम गर्ने र सचिवालय र अन्य निकायसँग आवश्यक समन्वय गर्ने उल्लेख छ ।

सभामुखले प्रदेश सभामा १ जना सचिव नियुक्ति गर्न पाउने संविधानमै व्यवस्था भएअनुसार सभाबाट कानून निर्माण गरी प्रमाणिकरणको लागि पेश गरिएको हो ।