मरिण क्याम्पसलाई बन्दरहित बनाउने घोषणा

मुख्य समाचार शिक्षा

कमलामाई, ७ वैशाख, २०७६, सिन्धुलीको एकमात्र प्राकृतिक व्यवस्थापन कलेजमा विभिन्न वहानामा पढाई पटक पटक अवरोध भएको भन्दै आगामी दिनमा क्याम्पस बन्द नगर्ने घोषणा गरिएको छ । सिन्धुलीको मरिण गाउँपालिकामा रहेको कृषि तथा वन विश्व विद्यालय रामपुर चितवनको आंगिक क्याम्पस मरिण प्राकृतिक ब्यवस्थापन कलेजमा शनिबार बसेको सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो ।

विद्यार्थी तथा अभिभावक वा अन्य कुनै पनि पक्षबाट क्याम्पस बन्द गर्ने कार्यको अन्त्य गर्नका लागि यस्तो घोषणा गरिएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख माधव धितालका अनुसार शैक्षिक गतिविधि अगाडि बढ्नुपर्ने भएकाले बन्दरहित बनाउने प्रयास गरिएको हो ।

क्याम्पसको पठन पाठनलाई कुनै पनि वहानामा अवरोध नगर्ने प्रतिबद्धता भएको उनले बताए । क्याम्पस प्रशासन, गाउँपालिका प्रमुख, स्थानीय राजनीतिक दल लगायतको भेलाले आगामी दिनमा क्याम्पसमा कुनै पनि वहानामा कहि कतैबाट पठन पाठनमा अवरोध नगर्ने र नगराउने निर्णय गरेको छ ।