पत्रकारिता शिक्षाको व्यवहारिक ज्ञान दिने पुस्तक

मुख्य समाचार विचार विषेश समाचार

नेपालमा पत्रकारिता शिक्षा विस्तारित र विस्तृत बन्दै गएको छ । अहिले नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म पत्रकारिता शिक्षा बढ्दो छ । वि.सं. २०३० को दशकबाट सुरु भएको पत्रकारिता शिक्षाको यो विस्तारित स्वरुपको गतिमा यसका लागि आवश्यक पाठ्यसामग्री, शिक्षण सामग्री र आवश्यक सञ्चार अनुसन्धान भने कमै भएका छन् । जसका कारण परेवाले खबर आदान प्रदान ‘गथ्र्यो रे’ भनेर हामी पढिरहेका छौँ । यसरी रे! भनेर पढ्ने विषय अरु पनि धेरै छन् । जसको प्रामाणिक अनुसन्धान छैन र कुनै अनुसन्धानमूलक लेख नै लेख्नुपर्यो भने पनि त्यसको आधिकारिक सन्दर्भसूची राख्नसक्ने सामग्री छैन । छोटोमा यतिमात्र भन्दा पुग्छ कि नेपालमा आमसञ्चारका क्षेत्रमा अनुसन्धान हुन सकिरहेको छैन ।

अर्काे खाँचो हाम्रो पत्रकारिता शिक्षामा व्यावहारिक ज्ञानको छ । हामी कतिपयले अहिले पनि क्यामेरा पुस्तकमा पढाइरहेका छौँ, पढिरहेका छौँ । अनि मिडिया हाउसको समाचार कक्ष कस्तो हुन्छ भन्ने बारेमा चित्र बनाएर पढेका, पढाएका छौँ । जसका कारण भोलि ती विद्यार्थी काम गर्न मिडिया हाउसमा पुग्दा उसको भौतिक मात्रको उपस्थिति देखिन पुग्छ, व्यावहारिक ज्ञान देखिन्न । कुरा एउटा क्यामेराको र कुनै एउटा मिडिया हाउसको समाचार कक्षको मात्र होइन । यस अभिव्यक्तिले समग्रतामा पत्रकारिता शिक्षा व्यावहारिक ज्ञानमा आधारित भएन भन्ने हो ।

यसरी क्यामेरा क्यामेरामै, समाचार उत्पादनको कार्य समाचार कक्षमै, फिचर लेखनका कुराहरु ‘फिल्ड’ मा नै पुगेर गर्न सकियो भने ज्ञान लिने मात्र भन्दा पनि व्यावहारिक ज्ञान लिने कुरामा धेरै फरक पर्दछ । र यस्ता विषयहरुमा अध्ययनका लागि आवश्यक पर्ने सामग्रीहरुको पनि हामीसँग कमी छ । नेपालमा मिडियाका पाठ्यसामग्री पनि यथेष्ट छैनन् । पाठ्यसामग्रीहरु पाइने भए पनि तिनमा समय समयमा अद्यावधिक पाइन्न । यसका कारण आमसञ्चार क्षेत्रका विद्यार्थीहरुलाई अप्ठेरो पर्ने गरेको देखिन्छ । पत्रकारिता शिक्षा र अभ्यासका खाँचो, अफ्ठ्यारा र अभाव पुरताल गर्न पत्रकार, पत्रकारिताका प्राध्यापक एकराज पाठकले एक पाठ्यसामग्री तयार गरेका छन् जसको नाम हो ‘आमसञ्चार र पत्रकारिता’ ।

लेखक : एकराज पाठक
पुस्तकको नाम : आमसञ्चार र पत्रकारिता
प्रकाशक : पैरवी प्रकाशन
मूल्य : रु. ७४५/-
पृष्ठ संख्या : ६१६

यस पुस्तकमा आमसञ्चार र पत्रकारिता क्षेत्रमा आवश्यक सञ्चार कानुनका बारेमा पनि गहन रुपमा सामग्रीहरु राखिएको छ । मिडिया कानुन, पत्रकारहरुका लागि पत्रकारिताका सहयोगी तथा आवश्यक पर्ने कानुन र कानुनी प्रावधानहरु, आचारसंहिता, यसको प्रयोग र इतिहासका साथै गोपनीयता र सूचनाको हकका बारेमा पनि यस पुस्तकमा प्रस्तुत गरिएको छ । सूचनाको हक र गोपनीयताको हक बारेमा तुलनात्मक अध्ययन गरिएको छ । सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको हकका विषयमा तुलनात्मक अध्ययन दिइएको छ । सूचनाको हकको बारेमा यस पुस्तकमा विगत, वर्तमान र यसको प्रयोगसमेत गरी विस्तृत रुपमा दिइएको छ । यस पुस्तकमा लेखकको पत्रकारिताको २२ वर्षको अनुभव र एक दशकभन्दा लामो पत्रकारिता शिक्षणको अनुभव पनि छ । लेखकले देखाई, लेखाई र भोगाईहरुलाई सकेसम्म यस पुस्तकमा प्राज्ञिक र पठनीय सामग्रीका रुपमा समेट्ने प्रयत्न गरेका छन् ।

यस पुस्तकमा आमसञ्चार र पत्रकारिता विषयको भरपूर जानकारी, सञ्चार, आमसञ्चार र सञ्चारमाध्यम, नेपाली पत्रकारिताको इतिहासदेखि वर्तमान, रेडियो, टेलिभिजन, अनलाइन र फोटो पत्रकारिताको इतिहास र वर्तमान अभ्यास समेतको यथेष्ट जानकारी छ । त्यसैगरी समाचार समिति पत्रकारिताबारे विस्तृत रुपमा समेटिएको छ । सूचनाको हक, गोपनीयताको हक, पत्रकार आचारसंहिता तथा सञ्चार कानुनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासक्रम र ऐतिहासिक सन्दर्भहरुसहितको विस्तृत जानकारी छ । विभिन्न विधागत रिपोर्टिङ, आलेख लेखन, खोजी रिपोर्टिङ, समाचार लेखन तथा सम्पादनबारे भरपूर ज्ञान र अभ्यासका कलाहरु समेटिएको छ ।

यो पुस्तक विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीलाई त उपयोगी छ नै, ती विषयमा अध्यापन गराउने शिक्षकहरुका लागि पनि आवश्यक छ । साथै पत्रकारिता गरिरहेका व्यक्तिहरुले पनि यसबाट धेरै सिक्न सक्छन् । समाचार कसरी लेख्ने भन्नेदेखि लिएर आलेख लेखनको पनि राम्रो अभ्याससहितका सामग्री यसमा समावेश गराइएको छ । फिचर लेखनको लागि व्यावहारिक ज्ञान र सीप बढाउने खालका सामग्री पुस्तकमा राखिएको छ । यसबाट आलेख लेख्न गाह्रो मान्ने गरेका पत्रकारले धेरै सिक्न सक्छन् ।

विभिन्न विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विषयको स्नातक र स्नातकोत्तर तहका अधिकांश विषयवस्तुहरु पुस्तकमा समावेश गरिएको छ । यसका साथै पत्रकारिता विषयमा लोक सेवा आयोगले लिने विविध तहको परीक्षाका लागि पनि यो पुस्तक उपयोगी हुन सक्छ । त्यसैले पत्रकारिता शिक्षा लिइरहेका, पत्रकारिता गरिहेका, गर्न चाहने र पत्रकारिताप्रति चासो राख्ने हरेक व्यक्तिका लागि यो पुस्तक उपयोगी छ भन्दा अत्युक्ति हुँदैन ।

प्रस्तुति: डिल्ली रमण सुवेदी