गर्मी लाग्यो, स्वास्थ्यप्रति अलि सचेत हुने कि !

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, ६ वैशाख, २०७६ . गर्मी मौसममा रोगको संक्रमण फैलने सम्भावना अत्यधिक हुन्छ । हावा, पानी, लामखुट्टे लगायतका किटबाट सरुवा रोगको संक्रमण हुने सरुवा राेग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनका अनुसार विशेषगरी टाइफाइड ज्वराे , झाडापखाला, भाइरल हेपाटाइटिस, आउँ जस्ता रोगको जोखिम गर्मी मौसममा बढी हुन्छ ।

गर्मी मौसममा लाग्ने अधिकांश रोग खानपिन र सरसफाईसँग जाेडिएकाे हुन्छ । डाक्टर पुन भन्छन्, ”गर्मी माैसममा देखिने यी राेगहरु खाना र पानीसँग जाेडिएकाे हुन्छ । हामीले कस्ताे खाना र पानीकाे प्रयाेग गर्दैछाै त्यसमा भर पर्छ ।”

ठेउला, दादुरा, रुघाखोकीजस्ता सरुवा रोग हावाबाट, टाइफाइड, हेपाटाइटिस ए र ई, झाडापखाला, हैजा लगायत रोग दुषित पानी र खानाबाट सर्ने गर्छ । गर्मी मौसममा यी रोगका ब्याक्टेरिया बढी सक्रिय हुने भएकाले पनि यसको जोखिम उच्च हुन्छ । यी राेगबाट बच्न विशेषगरी सरसफाइमा ध्यान दिनुपर्ने उनकाे सुझाव छ ।

”यी राेगबाट बच्ने एक मात्र उपाय भनेकाे सरसफाइमा ध्यान दिनु हाे । पानी उमालेर वा पियुस राखेर शुद्ध बनाउन सकिन्छ ।” उनले भने, ”खानाकाे सफाइमा पनि ध्यान दिनु आवश्यक छ ।” विभिन्न रोगको महामारी विशेषगरी गर्मी मौसममै फैलिने गर्छ । मौसमी रुघाखोकीदेखि भाइरसजन्य रोगको जोखिम पनि गर्मी मौसममा बढी हुन्छ ।