यौन दुर्व्यवहारको आरोप लागेपछि राजनले दिए मण्डलाबाट राजिनामा

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, ६ वैशाख, २०७६ । रंगमञ्चका महिला कलाकार तथा प्रशिक्षार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि मण्डला थिएटरका राजन खतिवडाले राजिनामा दिएका छन् । मण्डला नाटक समूहकी अध्यक्ष सिर्जना सुब्बाले आज एक विज्ञप्ति निकाल्दै महासचिव राजन खतिवडाले राजिनामा बुझाएको र संस्थाले स्वीकृत गरेको जनाएकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस समूहका महासचिव राजन खतिवडाविरुद्ध समेत आरोप आएको सन्दर्भमा खतिवडा स्वयमले आफूबाट अन्जानमा गल्ती भएको हुनसक्ने बताउँदै आत्मालोचना गरेका कारण र घटनाको निष्पक्ष छानवीनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहन चाहँदै सामाजिक नैतिकताका आधारमा राजिनामा दिएका कारण उनलाई कम्तीमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ ।’

नेपाली रंगमञ्चमा कार्यरत एक जिम्मेवार संस्थाको हिसाबले यस किसिमका घटनाहरु निराकरण गर्नमा मण्डला नाटक समूहको दायित्व समेत हुन आउने भएकोले त्यसका लागि संस्थागत रुपमै लागिपर्न समूह नेपाल कटिवद्ध रहेको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस सम्बन्धमा आइरहेका समाचारहरुमाथि छानवीन र आवश्यक कारवाही गर्दै त्यसका लागि बृहत छलफल गर्न समेत संस्था तयार भएको जानकारी गराउन चाहन्छौं । यसका लागि सहयोग गरिदिनहुन सबै रंगकर्मी समुदाय तथा सरोकारवाला निकायहरु समक्ष हार्दिक आह्वान गर्दछौं ।’

अघिल्लो हप्तादेखि रंगमञ्चका केही वरिष्ठ कलाकारहरुलेसमेत महिला कलाकार तथा प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहार गरेको भन्दै नाम सार्वजनिक भएको थियो ।

Loading...