पोखरामा ‘दाल भात तरकारी’

मनोरञ्जन मुख्य समाचार

कास्की, ६ वैशाख, २०७६ । चलचित्र ‘दाल भात तरकारी’ को युनिट मोफसल दौडको क्रममा पोखरा आईपुगेको छ । आगामी वैशाख २० गतेबाट यो फिल्म रिलिज हुँदैछ । चलचित्रको प्रचारका लागि फिल्मको टिम मोफसलका मुख्य शहर विर्तामोड, दमक, इटहरी, हेटौंडा, नारायणगढ, बुटवल, नेपालगञ्ज, दाङ हुँदै पोखरा पुगेको छ । टोलीले पोखरामा अन्तिम प्रचारप्रसार गरेको जनाएको छ ।

प्रचारप्रसारका क्रममा पत्रकार भेटघाट, कन्सर्ट तथा विभिन्न सांगीतिक कार्यक्रम गरेको निर्माण समूहले बताएको छ । प्रोमोशनको लागि आफूहरु आएको कलाकार तथा प्रस्तुतकर्ता किरण केसीले बताए । फिल्म प्रचारका लागि पोखरामा आएका चर्चित हास्यकलाकार हरिवंश आचार्यले रंगमञ्च आमाको काखजस्तै लाग्ने बताए । युवाहरु विदेशिने क्रमलाई रोक्न चलचित्रले केही सन्देश दिने उनको ठहर छ ।

सोही क्रममा बोल्दै चलचित्रका निर्माता किरण केसीले चलचित्रको प्रचारको क्रममा विदेशबाट समेत राम्रो प्रतिक्रिया आएको बताए । ‘हामीले देश तथा विदेशमा एकै पटक चलचित्र रिलिज गर्न लागेका छौ, चलचित्रले राम्रो बजार लिने अपेक्षा गरेका छौं,’ केसीले भने । चलचित्रको प्रचारको क्रममा समेत दर्शकबाट राम्रो प्रतिक्रिया आएको उनले बताए ।

त्यस्तै चलचित्रकी नायिका आँचल शर्माले पारिवारिक कथामा आधारित फिल्म मनोरञ्जनले भरिएको बताइन् । हाँस्य कलाकार शिवहरी पौडेलले चलचित्रले नेपाली समाजको प्रवृत्तिलाई कथन गरेको बताए ।

महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र ‘दाल, भात, तरकारी’ को निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियङ्का कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुषाल, राजाराम पौडेल विल्सनविक्रम राई लगायतको अभिनय रहेको छ ।

Loading...